काठमाडौं- एमालेका दोस्रो तहका नेताले आफ्ना माग सम्बोधन गर्न सहमति जनाएपछि एमाले नेता प्रभु साह अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट जानु भएको छ ।
एमाले नेकपा कै निरन्तरता भएकोले त्यसै अनुसारका कमिटी र कार्यक्रम हुनुपर्ने माग राख्दै आउनुभएको केन्द्रीय सदस्य साहलाई हिजो राति विष्णु पौडेल र शंकरपोखरेलले सहमतिमा ल्याउनु भएको छ । करिब डेढ घण्टा देखि अध्यक्ष केपी शर्मा ओलीसहित नेताहरु साहसँग छलफलमा हुनुहुन्छ ।
स्रोतका अनुसार हिजो राती लामो समयसम्म पौडेल, पोखरेल, साह, टोपबहादुर रायमाझी लगायतका नेताहरु बसेर साहको मागमा छलफल गर्नुभएको थियो । ‘छलफलमा प्रभु साहले आफ्ना केही अफ्ठयाराहरु राख्नुभयो । तिनलाई सहज बनाइदिन एमालेले बाटो खोल्ने सहमति भएको छ,’ हिजोको छलफलमा सहभागी एक नेताका अनुसार ‘साहलाई एमालेमा तत्काल देखिने गरीको पोजिसन दिने र महाधिवेशनमा स्थायी कमिटीमा लैजाने सहमति भएको छ ।’ तत्काल देखिने गरीको पोजिसन भनेको के हो ति नेताले खुलाउन चाहेनन् । ‘त्यो दसैं लगत्तै थाहा पाउनु हुनेछ ’ छलफलमा सहभागी ति नेताले भन्नुभयो ।
राती दोस्रो तहका नेतासँग सहमति भएपछि अध्यक्ष ओलीको प्रतिवद्धता खोज्न साहले आज बालकोट बैठकको माग गर्नुभएको थियो । सोही अनुसार हिजो साँझ छलफलमा बसेका सबै र त्यसमा सदुरपश्चिम इन्चार्ज लेखराज भट्ट पनि थपिनु भएको छ । अहिले बालकोटमा छलफल जारी छ ।
खासगरी नेकपाको एकता भंग भए पछि एमालेमा बसेका साहले मधेसमा एमालेको पक्ष र प्रचण्डको विपक्षमा माहोल सृजना गर्नुभएको थियो ।
सुरुमा केपी ओलीलाई साथ दिन उत्साही साह सर्वोच्चको फैसालाले मन्त्री पद र साँसद दुवै गुमेपछि केही निराश हुनुभएको निकटस्थहरु बताउँछन् । त्यतिमात्र होइन एमाले जेठ २ मा फर्केपछि साहको प्रदेश अध्यक्षको पद पनि गयो । त्यस ठाउँमा पूर्व माओवादीबाटै ज्वालाकुमारी साह आए पनि साहले आफू डोमिनेट भएको महसुस गर्नुभएको थियो । त्यसपछि आइटी आर्मी नामको संगठन बनाएर त्यसैबाट मधेसमा राजनीति गरिरहेका आजको बैठक पछि साह अब एमाले मै सक्रिय हुने नेताहरुले जनाएका छन् ।





प्रतिक्रिया