काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली ‘अर्ली इलेक्सन’ घोषणा हुन सक्ने बताउनुभएको छ ।
कांग्रेस नेतृत्वको गठबन्धन आन्तरिक विवादमा परिरहेकाबेला अध्यक्ष ओलीले गृहजिल्ला झापामा बिहीबार भएको चियापान कार्यक्रममा ‘अर्ली इलेक्सन’ घोषणा हुन सक्ने बताउनुभएको हो । ‘बीचैमा अर्ली इलेक्सन भनेर आउने हो कि ?’ उहाँले यतिमात्रै भन्नुभयो ।
जुनसुकै बेला निर्वाचन हुन सक्ने संकेत गर्दै अध्यक्ष ओलीले स्थानीय सरकार र प्रदेश सरकारमा रहेका एमाले जनप्रतिनिधिहरुलाई जिम्मेवार भएर जनताको मत जित्ने काम गर्न आग्रह गर्नुभयो ।
परमादेशबाट विश्वमा कहिँ पनि सरकार नबनेको बताउँदै अध्यक्ष ओलीले सरकार निर्माणमा भएका सट्टापट्टाको वास्तविकता विस्तारै खुल्दै जाने उल्लेख गर्नुभयो । उहाँले प्रधान्यायाधीशका जेठानलाई मन्त्री बनाएर कार्यपालिका र न्यायपालिकाबीच ‘बार्टर’ (साटफेर) भएको बताउनुभएको थियो ।
अध्यक्ष ओलीले शक्ति पृथकीकरणको सिद्धान्तविपरीतका काम भएको टिप्पणी गर्नुभयो । ‘लोकतान्त्रिक प्रणालीमा सबै निकायहरुले शक्ति सन्तुलनमा रहेर आ आफ्नो क्षेत्राधिकारमा रहेर काम गर्नुपर्छ, अली परसम्म हेर्ने बानी पलाओस्,’ उहाँले भन्नुभयो ।
जनताको जीवनमा देखिने गरी सकारात्मक परिवर्तन ल्याउनका लागि लोकतन्त्र ल्याइएको बताउँदै अध्यक्ष ओलीले लोकतन्त्रलाई लुटतन्त्र बनाउन नमिल्ने उल्लेख गर्नुभयो ।
प्रतिक्रिया