अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माधव नेपालको समाजवादी यात्रा

पार्टी नबन्दै भत्किंदै नेकपा (एस), माधव नेपालको ‘निराशाजनक प्रस्थान’

पार्टी नबन्दै भत्किंदै नेकपा (एस), माधव नेपालको ‘निराशाजनक प्रस्थान’


काठमाडौं– नेकपा एमालेमा महासचिव भएर १५ वर्ष पार्टीको नेतृत्व गर्नुभएका माधवकुमार नेपालको नयाँ पार्टी अभियान भने नकारात्मक मोडतिर गएको छ ।

सैद्धान्तिक, वैचारिक मतभेद नभई एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको व्यक्तिगत ‘इगो’का कारण जबरजस्ती बनाइएको नेकपा (एकीकृत समाजवादी)को दुई महिना नपुग्दै लगालिंग अवस्थामा पुगेको छ । पार्टीमा उत्साह त छैन नै एमालेको नेतृत्वमा रहँदा असाध्यै क्रियाशील रहने नेपालको अभियान निराशाजनक छ ।

गत भदौ ९ गते दल दर्ताको प्रमाणपत्र पाएको नेकपा (एस)ले दुई महिना पूरा भएको छैन, तर युवा र क्रियाशील नेताहरु पार्टीमा फिर्ता भइरहेका छन् । एमाले केन्द्रीय कार्यालय स्रोत भन्छ– ‘छिट्टै शीर्ष नेताहरु नै फर्किनुहुन्छ ।’ जस्तो कि, एमालेबाट राजीनामा दिएका उपाध्यक्ष वामदेव गौतम पत्नी तुलसा थापामगरले नेकपा (एस) छाडिसक्नुभएको छ ।

प्रदीप नेपालले नेकपा (एकीकृत समाजवादी)बाट बिदा लिएको घोषणा गर्नुभयो । उहाँ नेकपा एस सनाखतका लागि निर्वाचन आयोग पुग्नुभएको थियो । उहाँले माधवकुमार नेपालले झेली कुरा गरेको भन्दै समाजवादीको साथ छाडेको बताउनुभयो । उहाँले भन्नुभएको छ, ‘माधव कमरेड, म केपीसँग जान्न । किनभने तानाशाही प्रवृत्तिको म सधैं विरोधी हुँ। तपाई पनि झेली कुरा गर्न सिक्नु भएछ। बारम्बारको कुराकानीमा मैले जबज हुँदैन भने मेरो नाम नलेख्नुस भनेको थिएँ । तर आखिरमा तपाईंबाट पनि मैले धोकाकै उपहार लिएर जानु पर्ने भो। बिदा ।’

अखिल फोर्सका संयोजकसमेत रहनुभएका आरआर क्याम्पसका स्ववियु सभापति तपेन्द्र शाही एमालेमै फिर्ता हुनुभएको छ । उहाँलाई एमाले अनेरास्ववियुको सचिवको जिम्मेवारी दिइएको छ । शाहीको फिर्ताले माधव नेपाललाई साथ दिएको तेस्रो पुस्ता पनि निराश छ ।

नेकपा (एस) काभ्रेकी उपसचिव एवं अनेरास्ववियुका भक्तकुमारी लामा पनि एमालेमै फर्कनुभएको छ । उहाँ लामो समयदेखि माधव नेपाल समूहमा हुनुहुन्थ्यो ।

त्यसो त माधव नेपाल समूहमा रहेका ५७ केन्द्रीय नेता १० बुँदे सहमति गरी एमालेमै बसेका थिए ।

नेकपा (एकीकृत समाजवादी)निकट युवा संघकी वरिष्ठ उपाध्यक्ष क्रान्ती बुर्लाकोटी एमालेमै फर्किनुभएको छ । एमालेको विवादको बेला माधव नेपाल समूहले गठन गरेको समानान्तर कमिटीको वरिष्ठ उपाध्यक्ष रहेकी क्रान्ती पार्टी विभाजनपछि पनि सोही समूहमा हुनुहुन्थ्यो । गोदावरीमा सम्पन्न एमालेको विधान महाधिवेशनमा भाग लिएर बुर्लाकोटीले नेकपा एससँगको आबद्धता तोड्नुभएको हो । उहाँका बुवा पूर्व सांसद गुरु बुर्लाकोटी नेकपा एसमा रहनुभएको छ ।

नेकपा समाजवादीका उपमहासचिव प्रकाश ज्वालाका स्वकीय सचिवसहित छत्रेश्वरी गाउँपालिकाका सवै नेता कार्यकर्ता एमालेमै फर्किएका छन । ज्वालाका स्वकीय सचिव रहनुभएका समाजवादीका जिल्ला कमिटी सदस्य एवं युवा संघ केन्द्रीय सचिवालय सदस्य खड्क शाही, जिल्ला कमिटी सदस्य हिरा चन्द र युवा संघ सल्यानका कोषाध्यक्ष सुरेन्द्र चन्दसहित समाजवादीतिर लागेका सवै नेता कार्यकर्ता एमालेमै फर्किनुभएको हो ।

एमालेमा लामो समयदेखि माधव नेपाल नजिक रहनुभएका अखिलका पूर्व नेपाल उपेन्द्र पौडेलले पनि माधव नेपालको साध छाड्नुभएको छ । उहाँ अनेरास्ववियुका प्रथम प्रत्यक्ष निर्वाचनबाट निर्वाचित कोषाध्यक्ष , पोखरा सम्मेलनमा रामकुमारी झाँक्री टिमबाट महासचिवका उम्मेदवार हुनुहुन्थ्यो । पौडेललाई एमाले बागमती प्रदेश कमिटी सदस्यको जिम्मेवारी दिइएको छ ।