काठमाडौं- सर्वोच्च अदालतमा मुद्दा हालेर शेरबहादुर देउवा नेतृत्वको सरकार बनाउनुभएका माधवकुमार नेपाललाई सत्तारुढ गठबन्धनले धोकाको श्रृंखला जारी राखेको छ ।
देउवा सरकारमा जान पार्टी फुटाएर नेकपा एकीकृत समाजवादी बनाउनुभएका नेता नेपाललाई प्रतिनिधि सभाको उपसभामुखबाट बञ्चिन गर्ने निश्चित भएको छ ।
उपसभामुखमा जनता समाजवादी पार्टीको दाबी बलियो हुँदै आएको छ । नेकपा समाजवादीका नेता एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले उपसभामुख जसपालाई दिन मञ्जुर गरिसकिएको जानकारी दिनुभयो ।
डा. शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएपछि २०७६ माघ ६ गतेदेखि उपसभामुख पद रिक्त छ ।
परमादेशबाट सरकार गठन भएपछि माधवकुमार नेपाल नेतृत्वको दललाई कम्तिमा ८ वटासम्म मन्त्रालय दिने सहमति भएको थियो । तर, पार्टी फुटाउँदा असाध्यै कम सांसदमात्रै गएपछि आधा घटाएर ४ वटा मन्त्रालय दिइएको छ ।
नेपालको दल एकीकृत समाजवादीलाई कम आकर्षक मन्त्रालय परेका छन् । बरु भौतिक योजना, कृषि, वन, संघीय मामिलाजस्ता आकर्षक मन्त्रालय जसपाले पाएको छ, त्यो पनि माधव नेपालकै हाराहारीमा ।
सरकारमा नगई दुई चार वटा नियुक्ति पाउनुभएका नेपाललाई त्यसपछिका कुनै पनि नियुक्तिमा भाग लगाइएको छैन । बरु, उहाँको भागमा परेका मन्त्रालयमा कांग्रेस निकट सेट भइसकेका छन् । स्वास्थ्य मन्त्रालयमा आरजु देउवाको सिफारिसमा सचिव नियुक्त भइसकेका छन् ।





प्रतिक्रिया