अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले समिकरण

अध्यक्ष ओलीको स्पष्ट सन्देश : एकतामा आउनेलाई भूमिकाविहीन बनाउन सकिँदैन

अध्यक्ष ओलीको स्पष्ट सन्देश : एकतामा आउनेलाई भूमिकाविहीन बनाउन सकिँदैन


काठमाडौं- दुईदिवसीय जिल्ला भ्रमणमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आइतबार झापा पुग्नुभयो । चुनावी तयारीकै झल्को दिनेगरी भएको झापा भ्रमणमा ओलीसँग पार्टीका सांसदहरु, विद्यार्थी नेता तथा कलाकारसँगै थिए । साथमा हुनुहुन्थ्यो, पूर्वमाओवादी नेता लेखराज भट्ट, जो अहिले एमाले स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम इन्चार्ज हुनुहुन्छ ।

नेता भट्टलाई ओलीले आफ्नो गृहजिल्ला लैजानु आफैंमा अर्थपूर्ण थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भीआईपी कक्षदेखि नै ओली र भट्ट सँगसँगै हुनुहुन्थ्यो । यती एयरलाइन्सको जहाजबाट पूर्व उडान भर्दा ओली र भट्ट सँगै बस्नुभयो । जहाजमै ओली र भट्टको सामिप्यता लोभलाग्दो देखियो ।

झण्डै एकघण्टाको उडानमा भलाकुसारी गर्दै झापाको भद्रपुर विमानस्थल पुग्नुभयो । भद्रपुरमा पनि ओली र भट्ट सँगसँगै ओर्लिनुभयो । स्वागत गर्न सुवास नेम्वाङ, भानुभक्त ढकाललगायत विमानस्थलमा लामबद्ध हुँदा जहाजबाट ओर्लिएका ओली अगाडि थिए, भने भट्ट पछाडि पर्नुभयो ।

यो कुरालाई नोटिस गरिरहेका ओलीले भट्टको हात तानेर आफूसँगै अगाडि ल्याउनुभयो । आफूलाई खादा ओढाउँदा ओलीले स्वागत कार्यकर्तालाई लेखराजजी पनि हुनुहुन्छ भनेर स्वागतका लागि अघि सार्नुभयो । नेता कार्यकर्ताले भट्टलाई खादा ‌ओढाएर स्वागत गरे । यो दृश्यले लेखराजलाई ओलीले कति महत्व दिनुभएको भन्ने दर्शाउँछ ।

आइतबार दिनभर झापामा रहनुभएका लेखराजले ओलीका साथै एमाले नेता कार्यकर्ताबाट राम्रै सम्मान पाउनुभयो । बृहत् पार्टी प्रवेश कार्यक्रममा पनि उहाँ विशिष्ट अतिथि तथा वक्ताका रुपमा हुनुहुन्थ्यो । सम्बोधनका क्रममा उहाँले सुदूरपश्चिमलाई सुदूरपूर्वसँग जोड्ने अवसर दिएकोमा ओलीलाई धन्यवाद पनि दिनुभयो र ओलीलाई नजिकबाट चिन्ने मौका दिएकोमा प्रचण्डलाई धन्यवादसम्म भन्न भ्याउनुभयो । झापामा भट्ट ओलीको सामिप्यता र आतिथ्यमा मोहित भए नै अर्कोतिर ओलीले पार्टी पंक्ति तथा भट्टलाई ‘आफ्नै’को सन्देश पनि दिनुभयो ।

एमालेभित्र १० बुँदे सहमति कार्यान्वयनलाई लिएर असन्तुष्टि चुलिएका बेला ओलीले भने भट्टलाई आफ्नै जिल्लामा आमन्त्रण गरी महत्व दिएर २ जेठमा जस्ताको तस्तै फर्किन नसकिने सन्देश दिनुभएको छ । १० बुँदे कार्यान्वयनमा अध्यक्षले फरक कुरा गरेको भन्दै कार्यदलका संयोजक भीम रावलले राजीनामा दिएका बेला ओलीले पनि रावललाई झापाबाट स्पष्ट सन्देश दिनुभएको छ, ‘लेखराज भट्टलाई छाड्न सकिँदैन ।’

२ जेठमा जस्ताको तस्तै फर्किँदा सुदूरपश्चिम प्रदेश संयोजक भीम रावल हुनुहुन्छ । तर पूर्वमाओवादीबाट आएका नेतालाई पनि समायोजन गरेर जानुपर्ने तर्क नेतृत्वले गर्दै आएका छन् । जसअन्तर्गत अध्यक्ष ओलीले भट्टलाई सुदूरपश्चिम इन्चार्ज बनाइक्नुभएको छ । यसमा रावलले असहमति जनाउँदै आउनुभएको छ । १० बुँदे कार्यान्वयनको हकमा अन्य प्रदेशमा कार्यान्वयन भए पनि सुदूरपश्चिममा जटिल बन्न पुगेको छ ।

ओलीले विगतमा नेकपा र सरकारमा अल्पमतमा पर्दा साथ दिएको भन्दै रामबहादुर थापा ‘बादल’लाई बागमती प्रदेश र लेखराजलाई सुदूरपश्चिम इन्चार्जको जिम्मेवारी दिनुभयो । १० बुँदेअन्तर्गत बादललाई प्रदेश इन्चार्ज मानिसकिएको छ । तर सुदूरपश्चिममा रावलले आफू संयोजक हुनैपर्ने आशयका साथ अडान राख्नुभएको छ । भलै उहाँले व्यक्तिगत हिसाबले भन्दा पनि समग्र १० बुँदे कार्यान्वयनका लागि भनिरहनुभएको छ । तर १० बुँदे बल्झिनुमा सुदूरपश्चिममा रावल कि भट्ट भन्ने प्रतिस्पर्धा नै हो ।

यो प्रतिस्पर्धाका बीच ओली भने लेखराजलाई च्यापेर हिँड्नुभएको छ । सुदूरपश्चिममा लेखराज दायाँबायाँ हुन्न भन्ने सन्देश पनि दिइरहनुभएको छ । अहिले सुदूरपश्चिममा रावल र भट्टबीच वर्चश्वको लडाइँ चलिरहेको छ, जसमा नेतृत्वले भट्टलाई महत्व दिएको झापा भ्रमणबाट प्रष्ट हुन्छ । -न्युज कारखाना