अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले अध्यक्षको गौरीगञ्ज नोस्टाल्जिया

‘देहाती गाउँ’ गौरीगञ्जमा अध्यक्ष ओलीको स्मार्ट सपना

‘देहाती गाउँ’ गौरीगञ्जमा अध्यक्ष ओलीको स्मार्ट सपना


गौरीगञ्ज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तीनदिने गृहजिल्ला भ्रमणका क्रममा आफ्नो निर्वाचन क्षेत्रका दुईवटा कार्यक्रममा सहभागी हुनुभयो । देहाती गाउँहरुमा आयोजना गरिएका यी कार्यक्रममा ओलीले आफू ३० वर्ष अघि पहिलो पटक चुनाव लड्न यस क्षेत्रमा आएको र यहाँको विकास निर्माणको कुरा स्मरण गर्नुभयो ।

सिमावर्ती गौरीगञ्ज बजारमा आयोजना गरिएको कार्यक्रममा ओलीले आफ्ना पुराना दिन यस क्षेत्रका विकास निर्माणमा आफूले गरेको योगदानका कुरा पनि स्मरण गराउनु भएको छ । गौरीगञ्जबाट रंगेली जोड्ने हुलाकी सडकको पुल झण्डै तीन वर्ष देखि अलपत्र छ । रतुवा खोलामा निर्माणाधिन अवस्थामा रहेको यो पुल नबन्दा यस क्षेत्रका बासिन्दालाई ठूलो मार परेको छ । ओलीले अब यो समस्या लामो समय नरहने आस्वासन दिनुभएको छ । अहिले पुल एकातिर खोलो अर्कातिर छ ।

यही खोलाको भारततिरको भागमा सातवटा पिलर उठाएर खोला साँघुरो पारेर बगाइएको छ । नेपालतर्फ भने नौ वटा पिलरको पुल बनाएर खोलालाई साँघुर्‍याइने उहाँले बताउनुभयो । पुल भन्दा उत्तर तर्फको भागमा खोलाको पूर्व पश्चिम दुवैतर्फ ९ सय मिटर तटबन्धन गरेर खोलालाई पुल भित्र हाल्ने योजना ओलीले स्थानीयबासीलाई सुनाउनु भएको छ ।

ओलीले निर्वाचनका बेला घोषणा गरेको ‘स्मार्ट गौरीगञ्ज सिटी’का बारेमा पनि स्थानीयलाई उत्साहित पार्नु भएको छ । ‘अहिलेको गौरीगञ्जको फोटो खिचेर राख्नुहोस् । केही वर्ष पछि यस्तो गौरीगञ्ज देख्न पाइँदैन । स्मार्ट र आधुनिक गौरीगञ्ज हुनेछ त्यसबेला ।’

हुलाकी सडकको पिच देख्दा यहाँका बासिन्दालाई आफ्नो याद आउनु पर्ने ओलीको भनाइ छ । आफू राष्ट्रिय बहसका विभिन्न बिषयमा केन्द्रित हुनुपर्दा क्षेत्रमा पटक पटक आउन नपाएको उहाँले गौरीगञ्जबासीलाई स्मरण गराउनुभएको छ । तर आफ्नो ध्यान क्षेत्रको विकासमा सधैं रहने गरेको उल्लेख गर्नुभएको छ । ओलीले केही स्थानीयबासिन्दाहरुसँग प्रत्यक्ष भेटघाट र अन्तरक्रिया पनि गर्नुभएको छ ।

गौरीगञ्जमा ओलीले राखेको मन्तव्यको अंश

रतुवा खोला दाँयाबाँयाबाट जादैन । यसलाई छेकेर पुल मुनी हालिन्छ । यो पुल भन्दा भारतले बनाएको पुल सातवटा पिल्लरले बनाइएको छ । त्यति ठाउँमा रतुवा अटेको पनि छ । हामीले ९ वटा पिल्लर बनाएका र्छौं । ९ वटा पिलर मुनीको खाली ठाउँबाट पानी जान सक्दछ । त्यतिमा अटाउँदछ । यसको डिजाइन र निर्माणमा केही कमजोरी हुँदा पुल निर्माणमा ढिलाइ भयो । तपाईंहरुलाई केही असुविधा भयो । तर अब यो समय लामो समय रहँदैन ।

२०५१ सालमा हामीले महिनाको १ सय रुपैयाँबाट सुरु गरेको यो भत्ता आज हामीले दिनको १ सय ३३ रुपैयाँ पुर्‍याएका र्छौं । जसले जसलाई भोट हाले पनि हामी ज्येष्ठ नागरिकहरुलाई बिना भेदभाव भत्ता दिन्छौं ।

तपाईंहरुलाई थाहा छ, म पहिलो पटक प्रधानमन्त्री हुँदा हुलाकी सडक आफैं बनाउछौं भनेर काम सुरु गरें । त्यो आज धेरै प्रतिशत सिद्धिएको छ । केही निकुञ्ज र आरक्षणहरुमा बाँकी छ । अरु ठाउँमा राजमार्ग तयार भएको छ । पिच भइसकेको छ । यहाँ केही ठाउँमा बाँकी होला तर चिन्ता नगर्नुहोस् । यहाँ पनि सबै पिच हुन्छ । पुल पनि बन्छ । यहाँबाट अल्टाबारीको बाटोको माग थियो । त्यो पनि बनिसक्यो होला । गेउरिया र लेडा खोलामा तटबन्धनको माग गर्नुभएको छ साथीहरुले त्यो पनि पुरा हुन्छ ।

अब गौरीगञ्ज सहर पुरानो होइन आधुनिक बन्छ । अब यसलाई पुरानो होइन आधुनिक स्मार्ट सिटी बनाइन्छ । गार्डेन, पार्क, मठ मन्दिर,पोखरी र व्यापारिक कम्प्लेक्स हुन्छन् यहाँ । कलेज अस्पताल हुन्छन् । बिजुलीका तार जमिन मुनीबाट लगिन्छ । त्यस्तो स्मार्ट सिटी हुन्छ । यसको कायाकल्प हुन्छ । अहिलेको गौरीगञ्जको फोटो खिचेर राख्नुहोस् । केही वर्षपछि नयाँ गौरीगञ्ज भइसक्छ । अरु कतिपय आजका झलमल देखिने सहर भन्दा बढी व्यवस्थित,बढी आधुनिक र बढी स्मार्ट हुन्छ ।

म पहिलो पटक २०४८ सालको निर्वाचनमा यहाँ उम्मेदवार भएर आउँदा साथीहरुले पाडाजुँगी गौरीगञ्ज सडक पिचको माग गर्नुभएको थियो । २०५१ सालमा म गृहमन्त्री भएका बेला यहाँको पिच गर्ने प्रक्रिया अघि बढ्यो । आज जिल्लाभरी सडक सञ्जाल । हुलाकी सडक । म पहिलो पटक प्रधानमन्त्री हुँदा सुरु गरेको मदन भण्डारी राजमार्ग अहिले करिब सकिने अवस्थामा पुगेको छ । तपाईंहरुलाई भेट्न आउन ढिला हुँदा म देश निर्माणका काममा लागेको हुन्छु । गरिबहरु जसको फुसको छाना छ, तिनीहरुलाई टिन लाउने अभियानमा लागेको हुन्छु । ज्येष्ठ नागरिकहरुलाई भत्ताको प्रवन्ध गर्न लागेको हुन्छु । २०५१ सालमा हामीले महिनाको १ सय रुपैयाँबाट सुरु गरेको यो भत्ता आज हामीले दिनको १ सय ३३ रुपैयाँ पुर्‍याएका र्छौं । जसले जसलाई भोट हाले पनि हामी ज्येष्ठ नागरिकहरुलाई बिना भेदभाव भत्ता दिन्छौं ।

हामीले मिचिएको भूमि फिर्ता ल्याउने पहल थाल्यौं । त्यसका लागि पहिला दाबी गर्नुपर्‍यो । नक्सा जारी गर्नुपर्‍यो । त्यसलाई संविधानमा राख्नुपर्‍यो । त्यसमा आएका बाधा व्यवधान र चुनौतिको सामाना गर्नुपर्‍यो । नाकाबन्दी हुने अवस्थाबाट देशलाई मुक्त गरियो । चीनबाट बाटो खोलियो । यी सबै काममा लाग्नुपर्दा काठमाडौंमै व्यस्त भएँ । प्रधानमन्त्री हुँदा म धेरै पटक क्षेत्रमा आउन भ्याइनँ । दाजुभाइ दिदी बहिनीले यो कुरा बुझ्नुभएको छ । तर यहाँको हुलाकी बाटो र यहाँका अरु विकास निर्माण देख्दा मलाई सम्झनुहुन्छ । मलाइ देख्नुहुन्छ भन्ने लाग्छ ।