अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अकासे पानी जोहोले तेह्रथुमका किसानको फेरिएको दैनिकी

अकासे पानी जोहोले तेह्रथुमका किसानको फेरिएको दैनिकी


तेह्रथुम – तेह्रथुमका किसानहरूले वर्षाको पानी जोहो गरेका छन् । स्थानीय सरकारको पहलमा सञ्चालन भएका खानेपानी आयोजनाले मानिसले पिउने पानीको केही हदसम्म अभाव पूरा गरे पनि गाईवस्तु र सिँचाइका लागि भने पानी जोहो गरेका हुन् ।

वर्षायाममा परेको पानी प्लाष्टिकको पोखरीमा बनाएर जोहो गरेको पानीलाई हिउँदमा सिँचाइमा प्रयोग गरिने किसानहरूले बताएका छन् । खाने पानीकै समस्या भएका गाउँमा यतिबेला तरकारी तथा फलफूलमा सिँचाइ गर्ने गरेका छन् ।

किसानहरूले वर्खामा खेरा जाने पानी घरनजिकै पोखरी बनाएर संकलन गरी सिँचाइ गर्ने गरेका छन । स्थानीय सरकारले ‘एक घर एक प्लाष्टिक पोखरी’ कार्यक्रम ल्याएपछि किसानहरूलाई राहत मिलेको छथर गाउँपालिका-६ का घनश्याम ढकालले बताउनुभयो ।

‘पानीको मुहान सुक्दै जाँदा खानेपानी कै समस्या थियो । तर, स्थानीय सरकारले अनुदानमा प्लाष्टिक पोखरी दिएपछि सिँचाइ गर्न ठूलो राहत मिलेको छ’, उहाँले भन्नुभयो, ‘हामीलाई खानेपानी नै समस्या थियो । तरकारीमा सिँचाइ गर्न त झन परैको कुरा, तरकारी किनेरै खानु पर्थ्यो तर, हामी अहिले तरकारी बेच्न थालेका छौ ।’

ढकालजस्तै कृष्णकुमारी पौडेलले प्लाष्टिक पोखरीमा पानी जोहो गरी तरकारीमा सिँचाइ गर्दै आउनुभएको छ । करेसाबासीमा अकबरे, आलु, प्याज, लसुनलगायतका तरकारी खेती गर्दै आउनुभएकी हो ।

पानीकै अभावका कारण सिँचाइ गर्न नसक्दा तरकारी किनेर खाने यहाँका किसानहरू अहिले तरकारी बिक्रीबाटै मनग्य आम्दानी लिन थालेका छन् ।

पानी पर्दा घरको छतबाट झर्ने पानी पाइपबाट पोखरीमा संकलन गर्ने गरेका छन् ।

वर्षायाममा परेको पानी पोखरीमा संकलन गरी सुख्खायाममा तरकारी, फलफूल खेती तथा अन्यबालीमा सिँचाइ गर्ने गरेको छथर–६ का होमकुमारी मगरले बताउनुभयो । सुख्खाग्रस्त क्षेत्रका किसानहरूलाई लक्षित गरी ‘एक घर एक प्लाष्टिक पोखरी’ कार्यक्रम ल्याइएको छथर गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाले बताउनुभयो ।

गाउँपालिकाले कृषकको साझेदारीमा पोखरी अनुदानमा प्रदान गर्दै आएको कृषि शाखा प्रमुख छथर हिमबहादुर थापाले बताउनुभयो । आङदिम, हमरजुङ, पञ्चकन्या, फाक्चामारा, ओख्रे र सुदाप लगायतका गाउँहरूमा पोखरी बनाइ किसानले सिँचाइ गर्दै आएका छन् ।