लमजुङ- देशव्यापी रूपमा शुरु भएको जनगणना कार्यअन्तर्गत लमजुङमा २६४ जना गणक खटिएका छन् । लमजुङमा बिहीबार जिल्ला समन्वय समितिका प्रमुख लोकराज पाण्डे र प्रमुख जिल्ला अधिकारी सुशश्रल वैद्यको परिवारको गणना गरेर जनगणनाको सुरुवात गरिएको हो ।
जिल्ला जनगणना अधिकारी नारायण रिजालले गणनाको फारममा पाण्डे र वैद्यको पारिवारिक विवरण भरेर गणनाको सुरुवात गरेका हुन् । आवश्यक गणनाका विभिन्न सामग्री लिएर गणकहरू जिल्लाभर खटिएको जनगणना अधिकृत रिजालले बताउनुभयो ।
‘कोही नछुटून्, कोही नदोहोरिऊन्’ भन्ने नाराका साथ सुरु भएको जनगणना कार्यका लागि लमजुङमा तीनवटा स्थानीय जनगणना कार्यालय स्थापना गरिएको छ । सुपरिवेक्षकले तयार पारेको सूचीकरणबाट आएको डाटाअनुसार लमजुङभर ५६ हजार ७७२ घर छन् । ३९ हजार ४३४ जनगणना घर र ४४ हजार ५९० जनगणना परिवार रहेको जनगणना कार्यालयले जनाएको छ ।
बेँसीशहरस्थित स्थानीय जनगणना कार्यालयअन्तर्गत बेँसीशहर नगरपालिका, दोर्दी गाउँपालिका र मर्स्याङ्दी गाउँपालिकामा २५ हजार ३३३ घर छन् । १७ हजार २७७ जनगणना घर छन् । जनगणना परिवारको संख्या २० हजार ३७९ छ ।
मध्यनेपालस्थित स्थानीय जनगणना कार्यालयअन्तर्गत मध्यनेपाल नगरपालिका र क्व्होलासोथर गाउँपालिकामा घर संख्या १० हजार ५९१ छ । जनगणना घर आठ हजार १२८ र जनगणना परिवार आठ हजार ६५७ रहेको कार्यालयले जनाएको छ ।
सुन्दरबजारस्थित स्थानीय जनगणना कार्यालयअन्तर्गत दूधपोखरी गाउँपालिका, राइनास नगरपालिका र सुन्दरबजार नगरपालिकामा घर २१ हजार ४८ छन् । यसमा जनगणना घर १४ हजार २९ र जनगणना परिवार १५ हजार ५५४ छन् ।
जिल्ला समन्वय समितिका प्रमुख लोकराज पाण्डेले जनगणनामा समाजको यथार्थ चित्रण देखिने भएकाले सबै जना जनगणना कार्यमा सहभागी हुन आग्रह गरे । प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले जनगणना कार्यलाई सबै मिलेर सफल बनाउनुपर्ने बताउनुभयो ।
नेपालले हरेक १०र१० वर्षमा लिँदै आएको जनगणनाको यस वर्ष १२औँ जनगणना हो । जनगणना कार्यालयले गत ३० भदौदेखि १८ असोजसम्म २० दिन ६९ जना सुपरिवेक्षकलाई खटाएर घर परिवार सूीचकरण गरेको छ ।
प्रतिक्रिया