अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अछामका स्थानीय तह रैथाने बालीको संरक्षणमा

अछामका स्थानीय तह रैथाने बालीको संरक्षणमा


अछाम – अछामका स्थानीय तहले रैथाने बालीको संरक्षणका लागि बनाएको कार्यक्रम प्रभावकारी बनेका छन्। कोदो, भटमासलगायतका रैथाने बाली संरक्षण गर्दै उत्पादन बढाइ कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यले स्थानीय तहले यस्तो कार्यक्रम ल्याएका हुन् । अछामका सबै स्थानमा सिँचाइ सुविधा छैन।

सिँचाइको सुविधा नभएको स्थानमा कोदो बाली लगाउने गरिएको छ। बीचमा कोदोको खेती गर्ने क्रम घटेको थियो। तर, स्थानीय सरकारले रैथाने बाली संरक्षणको अभियान चलाएपछि यसको खेती गर्ने क्रम फेरि बढेको छ।

चौरपाटी, रामारोशन, मेल्लेख, मंगलसैन लगायतको क्षेत्रमा बढी मात्रमा कोदो खेती हुने गरेको छ। किसानहरू अहिले कोदो काट्न र सङ्कलन गर्न व्यस्त भएको मंगलसैनका धनसरा ढुङ्गानाको भनाइ छ। अछामको चौरपाटी गाउँपालिकामा सबै भन्दा बढी उत्पादन हुने अन्नबालीमा कोदो पर्दछ ।

पौष्टिक तत्व धेरै मात्रामा पाइने कोदो स्वास्थ्यका लागि महत्त्वपूर्ण छ। रैथाने बालीका रूपमा रहेको कोदोको परिकारप्रति स्थानीयवासीको मात्र हैन, बजारवासी र पर्यटकको समेत आकर्षण बढेको चौरपाटी अछामका भक्त कामीको भनाइ छ।

अछाममा तीन हजार ४०४ हेक्टर क्षेत्रमा कोदो खेती गरिँदै आएको कृषि ज्ञान केन्द्र अछामले जनाएको छ। चौरपाटी गाउँपालिकाले रैथाने बालीको संरक्षणको लागि फलेको कोदो, कुटेको धान कार्यक्रम सञ्चालन गरेको छ। यसबाट रैथाले बाली संरक्षण पनि हुने र जमिन पनि बाँझो नरहने गाउँपालिका अध्यक्ष हर्कबहादुर साउँद बताउनुभयो ।

अछाममा वर्सेनि लगभग ३२ सय ३१ दशमलव नौ मेट्रिक टन कोदो तथा ४३२ मेट्रिक टन भटमास उत्पादन हुने गरेको छ ।