अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशन

पदाधिकारी संख्याबारे विधान महाधिवेशनको निर्णय उल्टिएला ?

पदाधिकारी संख्याबारे विधान महाधिवेशनको निर्णय उल्टिएला ?


चितवन- नेकपा एमालेले इतिहासमा नै पहिलो पटक असोज १५ देखि १७ सम्म करिब ७ हजार प्रतिनिधि सहभागी गराएर विधान महाधिवेशन गर्‍यो । उक्त महाधिवेशनमा पार्टीको भावी कार्यदिशा, नेतृत्वमा रहने संख्या लगायतका अनेक दुरगामी विषयहरुमा छलफल र निर्णय पनि गर्‍यो ।

माओवादीसँगको एकता भंग र एमालेको पनि सानो समूह चोइटिएको सन्दर्भमा भएको महाधिवेशनको खास महत्व थियो । त्यति मात्र होइन पूर्व माओवादीबाट एमालेमा समाहित भएको समूह र १० बुँदे सहमति गरेर एमालेमै बसेको अर्को समूहलाई पनि चित्त बुझाउनु नेतृत्वका लागि चुनौतीपूर्ण थियो ।

महाधिवेशनका आम प्रतिनिधिको चाहना थियो कि– अहिले जो जो एमालेमा छन् सबैलाई उपयुक्त स्थान दिएर एमालेमै राखौं । जसले गर्दा पार्टीमा थप क्षती नहोस् । महाधिवेशनको बन्द सत्रका १० वटा प्रादेशिक समूह छलफलले नेतृत्व व्यवस्थपनका एकैखाले सुझावहरु हललाई दिएको थियो । यो न त सल्लाहमा भएको थियो न त नेतृत्वको निर्देशनका आधारमा । यो देशैभरीका एमालेका कार्यकर्ताको मनोभावना थियो । उनीहरुले व्यक्तिको व्यवस्थापनलाई हेरेर पदको संख्या प्रस्ताव गरेका थिए । जस्तो अधिकांश समूहहरुले सात जना उपाध्यक्ष बनाउन प्रस्ताव गरेका थिए । जसमा उनीहरुले भीम रावलदेखि रामबहादुर थापा ईश्वर पोखरेलदेखि सुवासचन्द्र नेम्वाङलाई अटाउन चाहेका थिए । यसैगरी अधिकांसको तीन जना उपमहासचिवको व्यवस्था गर्ने प्रस्ताव थियो । जहाँ उनीहरुले शंकर पोखरेल वा विष्णु पौडेलदेखि घनश्याम भूसालसम्म अटाउन भन्ने चाहेका थिए ।

हलको मनोभावना भन्दा केही फरक ढंगले अध्यक्ष मण्डलले पदाधिकारीको संख्या चयन भएको निर्णय सुनायो । जसअनुसार बरिष्ठ उपाध्यक्ष सहित पाँच जना उपाध्यक्ष र एक उपमहासचिवको व्यवस्था भएको निर्णय सुनायो । हलबाट सानोतिनो स्वर विरोधको रुपमा उठे पनि त्यसले आकार लिन सकेन । तर नेतृत्व छनौट गर्ने महाधिवेशनको सम्मुखमा आइपुग्दा नेतृत्वलाई चुनौति थपिएको छ कि नेताहरुको व्यवस्थापन कसरी गर्ने ?

विधान महाधिवेशनमा हलबाट दिइएका सुझावलाई ग्रहण गर्न नेतृत्वलाई एक पटक दबाब परेको नेताहरुले बताएका छन् । प्रादेशिक, युवा, तेस्रो तहका जे नाममा भए पनि अध्यक्ष केपी शर्मा ओलीसँग भेट्न गएका नेताहरुले पदाधिकारीको संख्या थपेर भए पनि नेताहरुको व्यवस्थापन गर्नुपर्नेमा जोड दिएका छन् । उनीहरुले पदाधिकारीमा कम्तीमा छ वटा पद थप्न माग गरेका छन् ।

भेटमा सहभागी नेताका अनुसार पदाधिकारी संख्या थप गरे पनि अध्यक्षमा उम्मेदवारी घोषणा गरेका नेता भीम रावलको ‘मुभ’ के हुनेबारे अध्यक्ष ओलीले चासो राख्नुभएको थियो ।

काठमाडौंमा छँदा खेरी नै पार्टी भित्रका विभिन्न समूहले गरेको यस्ता मागका बिषयमा अध्यक्ष ओलीले ‘न हार्ड न सफ्ट’ जवाफ दिएको नेताहरु बताउँछन् । यस्तो माग लिएर बालकोट जानेहरुलाई ‘चितवन झरौं त्यहाँको मुड हेरौं’ भन्ने जवाफ दिएर अध्यक्षले बालकोटबाट फर्काउने गरेको अध्यक्षको सचिवालयले जनाएको छ ।

बरिष्ठ उपाध्यक्ष्यमा दावी गर्नुभएका नेता सुवासचन्द्र नेम्वाङले पार्टी भित्रको सन्तुलनका आधारमा विभिन्न समुहहरुले उपाध्यक्ष्यमा कम्तीमा दुई पद थपेर सात जना,उपमहासचिवमा दुई पद थपेर तीन जना, सचिवमा दुई पद थपेर नौ जना बनाउन बनाउन सुझाव दिएका छन् । अझ कतिपयले बरिष्ठ उपाध्यक्ष दुई पद थपेर तीन जना पु¥याउन सुझाव दिएका छन् । पदाधिकारीको संख्या थपेपछि केन्द्रीय सदस्य २ सय ९९ जना पु¥याउनु पर्ने पार्टीभित्र माग उठेको छ । ‘पदाधिकारी र केन्द्रीय सदस्यको संख्या थप्न माग भएका छन् । अध्यक्षले सबैको कुरा सुन्नु भएको छ,’ नेम्वाङले नेपाली बहस डट कमसँग भन्नुभयो, ‘पदाधिकारी वा केन्द्रीय सदस्यको संख्या थप गर्दा पनि सहमति हुन्छ भन्ने आधार के छ भन्ने उहाँको सोधाइ छ ।’ यी सबै कुराको छिनोफानो आज साँझ बस्ने केन्द्रीय कमिटीको बैठकले गर्ने नेम्वाङले बताउनुभयो ।

विधान महाधिवेशनमा पास भएको प्रस्तावलाई महाधिवेशनले आवश्यकता अनुसार परिमार्जन गर्नसक्ने भएकोले यसलाई अन्यथा लिन नहुने नेम्वाङले बताउनुभयो ।