काठमाडौं – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विरोध गर्ने जनाउनुभएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार अपरान्ह ४ बजे बोलाएको बैठकअघि बस्न लागेको सत्ता गठबन्धनको बैठकमा नै एमसीसीको पक्षमा जनमोर्चा नरहेको सन्देश पुनः दिने जनाउनुभएको हो ।
‘जनमोर्चाको पहिलादेखि नै स्पष्ट धाराणा के हो भने चीन विरोधी क्याम्पमा नेपाललाई लैजान एमसीसी ल्याइएको हो । अनुदानको नाममा साम्राज्यवादी शक्ति अमेरिकाको षडयन्त्रमा नेपाल फस्नु हुँदैन,’ केसीले भन्नुभयो, ‘यो नेपालको विकासका लागि होइन, आफ्ना गतिविधि बढाउन लागि ल्याइएको एमसीसीको पक्षमा कुनै नेपाली छैनन् ।’
प्रधानमन्त्री देउवाले एमसीसी पारित गर्ने प्रयास गरेमा सत्ता गठबन्धनबाट जनमोर्चा अलग्गिन सक्ने उहाँको चेतावनी छ । अमेरिकी अनुदान एमसीसी पारित गराउनका लागि आफूलाई दबाब र फकाउने दुवै काम गरिरहेको केसीले जानकारी दिनुभएको छ ।
‘एमसीसीका प्रतिनिधिले त मलाई भेटेका छैनन्, तर एमसीसीको नेपाली दलालहरू भने म भएको ठाउँमा आउँछन, कतिपय त बुद्धिजीवीहरू नै लागेको देख्दा अचम्म लाग्छ,’ केसीले भन्नुभयो, ‘फकाउने र दबाब दिने दुवै काम गरे पनि म भने डग्मगाएको छैन, हामी विरोधमा नै छौँ ।’
केसी निवासमा एमसीसीको प्रतिनिधि बनेर को को नेपाली बुद्धिजीवी आएका थिए ? त्यो भने उहाँले खुलाउन अझै चाहेनन् । यति मात्र भन्नुभयो, ‘तिनलाई चिन्ने मौका पाइएको छ, समय आए पछि भनौंला।’
उहाँका अनुसार सम्पूर्ण नेपाली एमसीसीको विरोधमा भएकाले संसदवाट पारित हुने अवस्था छैन ।





प्रतिक्रिया