अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तनहुँमा चितुवाको त्रास बढ्यो

तनहुँमा चितुवाको त्रास बढ्यो


तनहुँ – तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादी डुम्रिडाँडामा चितुवाको त्रास बढेको छ । रातिको समयमा घरआँगनमै चितुवा आएर घरपालुवा बस्तुभाउ मार्न थालेपछि स्थानीयवासी त्रस्त भएका हुन् ।

चितुवाले स्थानीय शम्शेर परियारको गोठमा बाँधिराखेको बाख्रा मारेको छ । घरसँगै रहेको गोठमा आएर चितुवाले आक्रमण गरेपछि स्थानीयवासी त्रस्त भएको  नवराज मिश्रले जानकारी दिनुभयो ।

‘राति–राति चितुवा घरआँगनमै आउन थालेपछि त्रास बढेको छ,’ उहाँले भन्नुभयो, ‘रातिको समयमा घर बाहिर निस्कने अवस्था नै छैन ।’ बन्दीपुर गाउँपालिका–५ याम्पाफाँटमा पनि स्थानीयवासी सीता भट्टराईले पालेको गाईको बाच्छी चितुवाले मारेको छ । चितुवाको त्रासले रातको समयमा एक्लै घर बाहिर निस्कने डर हुने गरेको स्थानीयवासी बताउछन् । आहाराको खोजीमा चितुवा घरआँगनमा आउने गरेको छ । जिल्लाका विभिन्न ठाउँमा विगत केही वर्षदेखि चितुवाको त्रास हुँदै आएको छ । आँबुखैरेनी, भानु, बन्दीपुरलगायत क्षेत्रमा चितुवाको आक्रमणबाट बालबालिकाको मृत्यु हुनाका साथै केही घाइते भएका थिए।

वन क्षेत्रमा झाडी बढ्दै गएकाले चितुवाको बासस्थान पनि बढेको र अहिले चितुवाको प्रजननको समय भएकाले यसले मानिस र अन्य जनाबरमाथि आक्रमण गर्न सक्ने जनाउँदै डिभिजन वन कार्यालयले चितुवाको आक्रमणबाट सचेत र सतर्क रहन  आग्रह गरेको छ । जङ्गल फँडानी गरेर बस्ती बसाल्ने र जङ्गली जनावर मारेर खाइदिने गरेकाले मानव र वन्यजन्तुबीच द्वन्द्व बढ्दो अवस्थामा रहेको छ । डिभिजन वन प्रमुख कोमलराज काफ्लेले भन्नुभयो, ‘चितुवा सक्रिय हुने समय र आनीबानी बुझ्न सके यसबाट बच्न सकिन्छ ।’

वनजङ्गलमा पाइने जीवजन्तु मानिसले सिकार गरेर खाइदिने गरेका कारण पनि चितुवाले बस्तीमा आएर मानिसलाई आक्रमण गर्न थालेको छ । चितुवाको प्राकृतिक खाना भनेको जीवजन्तु नै भए पनि त्यस्ता जीवजन्तु मानिसले खाइदिने गरेका कारण चितुवाको सिकार मानिस हुनथालेको उहाँले बताउनुभयो । कार्यालयले चितुवाबाट बच्नका लागि घरगोठ उज्यालो बनाउन, र गोठ बलियो निर्माण गर्न सुझाउँदै  आएको छ । विसं २०७४ फागुन १ गते पहिलोपटक तनहुँमा भानु नगरपालिका–३ दोरदोरका ६ वर्षीय विशाल श्रेष्ठको चितुवाको आक्रमणबाट मृत्यु भएको थियो । त्यसयता चितुवाको आक्रमणबाट जिल्लाका विभिन्न ठाउँमा एघार जना बालबालिकाले ज्यान गुमाएका छन् । चितुवाको आक्रमणमा पर्ने बालबालिका १२ वर्ष उमेरसम्मका छन् ।