बुटवल – बुटवलस्थित लुम्बिनी प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडि विद्यार्थी र प्रहरीबीच झडप भएको छ ।
आज एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूद्वारा आयोजित प्रदर्शनमा झडप भएको हो । अनेरास्ववियूले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन र स्थानीय तहको निर्वाचन घोषणाको माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गरेको थियो। झडपमा परी पाँच जना विद्यार्थी घाइते भएको अनेरास्ववियू केन्द्रीय उपाध्यक्ष यम पाण्डेले जानकारी दिनुभयो ।
प्रदर्शनमा विद्यार्थीहरूले कालो बेलुन र ब्यानर समेत प्रदर्शन गरेका थिए । विरोधस्वरुप मुख्यमन्त्री कार्यालयअघिबाट कालो बेलुन उडाउने क्रममा प्रहरीले हस्तक्षेप गर्दै लाठीचार्ज गरेको थियो ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कार्यालय अगाडि विद्यार्थीहरूले गरेको प्रदर्शनलाई प्रहरीले रोक्न खोज्दा झडप भएको हो ।
झडपमा परी अनेरास्ववियू केन्द्रीय सचिवालय सदस्य बालकृष्ण पाण्डे, अनेरास्ववियू जिल्ला अध्यक्ष शेषकान्त पोखरेल, बुटवल नगर कमिटी अध्यक्ष रोशन घिमिरे, कृष्ण पौडेल र गुनबहादुर श्रेष्ठ घाइते भएको अनेरास्ववियूले जनाएको छ ।
त्यस्तै नगर कमिटी अध्यक्ष रोशन घिमिरेको टाउकोमा गम्भीर चोट लागेको र उहाँको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ ।







प्रतिक्रिया