अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

याक चौँरी जोगाउन मुस्किल

याक चौँरी जोगाउन मुस्किल


फुङ्लिङ – चर्न गएका याक चौँरी नभेट्दा साङ्बु शेर्पा निकै पिरोलिनु भएको छ । निरन्तर हिमपातले याकहरू कुन ठाउँमा हिउँले पुरेको छ, उहाँलाई थाहा छैन । फक्ताङलुङ गाउँपालिका–७ याङमागाउँ निवासी उहाँ याकहरु देख्न नपाएर दिनरात पिररोलिरहनुभएको छ । शेर्पाको पुख्र्यौली पेशा नै याक गोठ हो । सत्तरीवटा याक  शेर्पाले हेर्दै आउनुभएको थियो । अहिले प्रायः प्रत्येक दिन हिमपात भइरहेको छ । याङमा गाउँ ताप्लेजुङ जिल्लाकै उच्च स्थानको बस्ती हो । समुद्र सतहदेखि चार हजार ४०० मिटर उचाइमा अवस्थित सो बस्तीमा प्रायः हिमपात भइरहन्छ । अहिले याङमामा हिउँले  भरिएको  छ ।

यहाँ ११ घरपरिवार बसोबास गर्दै  आएका छन् । यहाँको पुख्र्योली पेशा घुम्ती याक गोठ हो । एक चरन क्षेत्रको घाँस सकिएपछि अर्को चरन क्षेत्रमा गोठ सार्ने काम हुन्छ । अहिले हिमपातको समय छ । हिमपातमा याक जोगाउन भदौ र असोजमै घाँस काटेर घाममा सुकाएर जोहो गरी राख्नु पर्दछ । विगत वर्षभन्दा यस वर्ष निरन्तर हिमपात भइरहेको छ । निरन्तर  हिमपात हुँदा शेर्पाले जोहो गरेर राखेको घाँस पनि सकिएको छ । चरन क्षेत्रमा हिउँले सबै पुरिएकाले कतै घाँस छैन । याक भोकभोकै हिउँमा फसेका छन् । याकको सा–साना बाछा गोठभित्र राखिएको छ । बाछालाई पनि जाडोबाट जोगाउन समस्या हुने गरेको शेर्पाले बताउनुभयो ।

साङ्बु शेर्पाको मात्रै होइन, याङमा बासिन्दाकै  पीडा उस्तै छ । विगत वर्षभन्दा यस वर्ष अलिक धेरै हिमपात भएको छ । हिमापातले हिमाली क्षेत्रको जनजीवनसँगै पशुचौपायलाई समेत निकै असर पारेको छ। चरन क्षेत्रमा हिउँले छोपिएसँगै याक भोकभोकै भएको याकपालक याङ्डे शेर्पाले बताउनुभयो । उहाँका अनुसार जोहो गरेको घाँस पनि सकेकाले याकलाई जोगाउन मुस्किल भएको छ । गोठमा भएको याक कहाँ–कहाँ छन् भनेर आफूले खोज्न नपाउँदा चिन्ताले सताएको उहाँले बताउनुभयो ।

विगतका वर्षहरूमा हिमपाहिराले र हिउँमा फसेर धेरै याक मरेको गोलाङचुङ गोलाका याक किसान तेन्जिङ शेर्पाले बताउनुभयो । ठाउँ–ठाउँमा अहिले पनि हिमपहिराको क्रम चलिरहेता पनि क्षति भने नभएको उहाँको भनाइ थियो । एउटा याक रु. ५० हजारदेखि एक लाख पर्दछ । हिमपहिरो र हिउँमा फसेर भोकले म¥यो भने किसानलाई ठूलो आर्थिक क्षति हुने किसान शेर्पाले बताउनुभयो ।

न्यानो कपडाको अभाव

याकपालक किसानलाई हिमपात हुँदा न्यानो कपडा अभाव हुने गरेको पशुपालक किसानले बताए । आफ्नो गोठमा रहेको याक कुन ठाउँको हिउँमा फसेका छन् भनी खोज्न जान आफूसँग आवश्यक न्यानो कपडा, हिउँमा लगाउने जुत्तासमेत नभएको याङमाका फुटी शेर्पाले बताउनुभयो । हिमाली क्षेत्रका याकपालक कृषकको समस्या स्थानीय सरकारले नबुझेको उहाँले गुसानो गर्नुभयो ।