ताप्लेजुङ – ताप्लेजुङको हिमाली बस्ती फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको फलेमा दर्जनाँ बाख्रा चिसोले मरेका छन् । पछिल्लो समय निरन्तरको हिमपातसँगै बढेको चिसोले गर्दा बाख्रा मरेका हुन् । हिमपातसँगै पछिल्लो दुई सातायता जिल्लाको उच्च हिमाली क्षेत्रमा दिनहुँजसो हिमपात हुँदै आएको छ भने फलेमा पनि अहिले बाक्लो हिउँ परेको छ । करिब तीन हजार ३०० मिटर उचाइ रहेको फले अवस्थित छ ।
फलेकी स्थानीय फुटी शेर्पाका अनुसार हिउँ पर्न थालेसँगै चिसो अत्यधिक बढेपछि बाख्रा मर्न थालेका हुन् । शेर्पा आफैँले पालेका ३१ वटामध्ये हालसम्म १० वटा बाख्रा मरिसकेका छन् । उहाँले चिसोबाट जोगाउनलाई बाख्रा खोर ९गोठ०भित्र राख्ने गरेको भए पनि राखेकै ठाउँमा मर्न थालेका बताउनुभयो । बेलुका तन्दुरुस्त देखिएका बाख्रा बिहान मरिराखेको पाइने गरेको उहाँको भनाइ थियो ।
लामो समयदेखिको हिमपातसँगै बढेको चिसोले गर्दा बाख्रा मर्न थालेका अर्का स्थानीयवासी पेमाला शेर्पाले बताउनुभयो । उहाँका अनुसार फलेमा एक दर्जनजति परिवारको बसोबास रहेको र हाल प्रत्येक परिवारले पालेका बाख्रा मर्न थालेका छन् । हिजोआज चरन क्षेत्र सबै हिउँले ढाकेको छ भने चिसोका कारण बाख्रा धमाधम मर्न थालेपछि ठूलो घाटा बेहोर्नुपर्ने अवस्था आएको पीडितहरूको भनाइ थियो ।
यता चिसोसँगै अन्य कारणले बाख्रा मरेको भएमा उपचार र परीक्षण गराउने कुनै व्यवस्था नभएको पनि उनीहरुले बताए । बाख्रालगायत पशुचौपायाको उपचार तथा परीक्षण सेवाका लागि फलेका बासिन्दाले गाउँपालिका केन्द्र तापेथोक र सदरमुकाम फुङ्लिङमा सम्पर्क गर्नुपर्ने हुन्छ । फलेदेखि तापेथोक पुग्नलाई दुई दिनको पैदलयात्रा गर्नुपर्छ भने सदरमुकाम फुङ्लिङका लागि तीन दिन लाग्छ । यहाँदेखि नजिकको बस्ती भनेको घुन्सा करिब दुई घण्टाको पैदल दूरीमा रहेको छ । त्यस्तै अर्को बस्ती ग्याब्ला करिब पाँच घण्टाको दूरीमा पर्दछ । दुर्गम क्षेत्र फलेका बासिन्दाले अहिलेको समयमा पशुचौपायाको स्वास्थ्य परीक्षण तथा उपचार गर्न चाहेमा पनि तत्काल सम्भव नरहेको बताए ।
चिसोबाट पशुचौपायालाई बचाउने उपायबारे आफूहरु पशु विषेशज्ञको परामर्शका साथै स्थानीय जनप्रतिनिधिसँग सहयोग लिने पहुँचमा नरहेको पनि फुटी शेर्पाले बताउनुभयो । हिउँका कारण अहिले आउजाउ गर्नलाई बाटो अवरुद्ध रहेको छ भने सहजरूपमा टेलिफोन सम्पर्क गर्ने स्थितिसमेत नभएको उहाँको भनाइ थियो । स्थानीयवासीका अनुसार बाख्राबाहेक चौँरी र अन्य पशुचौपायालाई पनि चिसोले निकै समस्या बनाएको छ । त्यहाँका बासिन्दा हाल घरभित्रै आगो तापेर बस्नाका साथै साथै न्यानो–न्यानो कपडा प्रयोग गरेर बस्दै आएका छन् ।
प्रतिक्रिया