अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बालाजुमा दुईजना पैदलयात्रीलाई ठक्कर दिएर भाग्ने बसका चालक धादिङबाट पक्राउ

बालाजुमा दुईजना पैदलयात्रीलाई ठक्कर दिएर भाग्ने बसका चालक धादिङबाट पक्राउ


काठमाडौँ – काठमाडौँको बालाजु गंगाहल नजिक सडकमा (हिजो) बिहीबार बिहान दुईजना पैदलयात्रीलाई ठक्कर दिई भाग्ने (हिट एण्ड रन) बसका चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङ सिद्धलेख गाउँपालिका–४ घर भएका २९ वर्षीय प्रदिप थपलिया छन् । उनलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

ठक्करबाट गम्भीर घाइते भएका काठमाडौँ तारकेश्वर नगरपालिका–१० मनमैजु बस्ने १८ वर्षीय विकाश तामाङ र काठमाडौँ महानगरपालिका–१६ जागृती टोल बस्ने ५५ वर्षीया दुर्गा माया थापाको मृत्यु भएको थियो ।

उनीहरुको जनमैत्री अस्पताल हुँदै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको थियो । दुर्घटना गरी फरार रहेको सवारी साधन र चालकलाई जिल्ला प्रहरी कार्यालय धादिङको सहयोगमा धादिङबेशीबाट पक्राउ गरिएको हो ।

बागमती प्रदेश ०१–००५ ख ९३१४ नम्बरको धादिङ–काठमाडौँ रुटमा चल्ने बससहित चालकलाई पक्राउ गरी महानगरीय प्रहरी वृत्त बालाजुमा ल्याइएको प्रहरीले जनाएको छ ।

घटना सम्बन्धमा महानगरीय प्रहरी वृत्त बालाजुबाट थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।