अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देवघाट गाउँपालिका-३ का वडाध्यक्ष आलेको भिरबाट खसेर मृत्यु

देवघाट गाउँपालिका-३ का वडाध्यक्ष आलेको भिरबाट खसेर मृत्यु


तनहुँ – तनहुँको देवघाट गाउँपालिका-३ का वडाध्यक्ष कीर्तिमान आलेको भिरबाट खसेर मृत्यु भएको छ । वडा कार्यालयबाट घर फर्किने क्रममा भिरबाट खसेर वडाध्यक्ष आलेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिहीबार वडा कार्यालय सकेर घर फर्किंदै गरेका आलेको भिरबाट खसेको अवस्थामा आज शव फेला परेको इलाका प्रहरी कार्यालय देवघाटका प्रहरी नायब निरीक्षक एकनारायण पोख्रेलले जानकारी दिनुभयो। उहाँका अनुसार वडाध्यक्ष शवको भिरबाट तल ३०-४० मिटर तल खसेको थियो । वडाध्यक्ष आले बिहीबारदेखि घर नफर्किएको परिवारलाई उद्धृत गर्दै प्रहरी नायब निरीक्षक पोख्रेलले बताउनुभयो।

‘वडा कार्यालयबाट निस्किए पनि उहाँ बिहीबारदेखि घर पुग्नुभएको रहेनछ, आज भिरबाट लडेको अवस्थामा शव भेटियो,’ उहाँले भन्नुभयो । उहाँका अनुसार शवको मुचुल्का गरेर शवपरीक्षणका लागि दमौली अस्पताल पठाउने तयारी गरिएको छ । वडाध्यक्ष थापा २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित हुनुभएको थियो ।

वडाध्यक्षको निधनमा गाउँपालिकामा शोक बिदा

तनहुँको देवघाट गाउँपालिकाले वडा नं ३ का वडाध्यक्ष एवं कार्यपालिका सदस्य कीर्तिमान आलेको निधनमा शोक बिदा दिने निर्णय गरेको छ । वडा कार्यालयबाट घर फर्किने क्रममा भिरबाट लडेर मृत्यु भएका आलेको शोकमा गाउँपालिकाले फागुन १६ गते शोक बिदा दिने निर्णय गरेको हो ।

गाउँपालिका अध्यक्षस्तरीय निर्णयबाट शोक बिदा दिने निर्णय भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्दप्रसाद पौडेलले जानकारी दिनुभयो । उक्त दिन गाउँपालिकाको कार्यालय र अन्तर्गतका कार्यालय बन्द रहने गाउँपालिकाले जनाएको छ ।