अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

डेढ वर्षमा झापामा ४५ सय बढी उद्योग दर्ता

डेढ वर्षमा झापामा ४५ सय बढी उद्योग दर्ता


झापा – झापामा पछिल्लो डेढ वर्षमा ४ चार हजार ५०६ उद्योग दर्ता भएका छन् । उद्योग र वाणिज्यकै काम गर्दै आएको घरेलु तथा साना उद्योग कार्यालय झापाका अनुसार गत आर्थिक वर्ष ०७७/०७८ मा मात्र तीन हजार ११० उद्योग दर्ता भएका छन् ।

यस्तै, चालू आर्थिक वर्षको पछिल्लो ६ महिनामा मात्र १३ सय ९६ उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालय झापाका निमित्त प्रमुख जयनारायण अधिकारीले जानकारी दिनुभयो । योसँगै झापामा हालसम्म करीब २५ हजार उद्योगतर्फ तथा २० हजार वाणिज्यतर्फ दर्ता भएको उहाँले बताउनुभयो ।

गत आर्थिक वर्षमा उद्योग दर्ता गर्न आउनेमध्ये सबैभन्दा धेरै महिला छन् । गत वर्ष १ हजार ७८४ उद्योग महिलाको नाममा दर्ता भएको अधिकारीले बताउनुभयो । उहाँका अनुसार १ हजार ४४० उद्योग पुरुषको नाममा दर्ता भएका छन् । ‘महिलाको गत आर्थिक वर्षमा धेरै उद्योग दर्ता भएको देखिन्छ । २० लाखसम्म पुँजी भएको उद्योग दर्ता गर्दा १० प्रतिशत र पाँच लाखसम्म पुँजी भएको उद्योग दर्ता गर्दा महिला र दलितको नाममा ५० प्रतिशत छुट हुन्छ,’ उहाँले भन्नुभयो, ‘त्यसकारण पनि महिलाको नाममा दर्ता गर्नेको संख्या बढेको अनुमान गर्न सकिन्छ ।’

गत आर्थिक वर्षमा तीन हजार ११० उद्योग दर्ता हुँदा पाँच हजार ८८८ ले रोजगारी पाएको अधिकारीले बताउनुभयो । यद्यपि चालू आर्थिक वर्षको ६ महिनामा भने महिलाको नाममा भन्दा पुरुषको नाममा धेरै उद्योग दर्ता छ । घरेलु तथा साना उद्योग कार्यालय झापाको अनुसार ८५५ उद्योग महिला र ९३० पुरुषको नाममा दर्ता रहेको अधिकारीले बताउनुभयो । ‘यसपटक कोरोना महामारीले लकडाउन हुँदा पुरुषलाई बाइकमा आउन सजिलो भयो । महिलालाई केही झन्झटिलो हुँदा घटेको हुन सक्छ,’ उहाँले भन्नुभयो । चालू आर्थिक वर्षमा २१ सय ७१ जनाले रोजगारी पाएका छन् ।

कोरोनाकालमा सबैभन्दा धेरै कृषिजन्य उद्योग दर्ता भएको उहाँले बताउनुभयो । गत आर्थिक वर्षमा तीन हजार ११० उद्योग दर्ता हुँदा १ हजार ८४९ कृषि उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालय झापाका निमित्त प्रमुख अधिकारीले बताउनुभयो । यस्तै, चालू आर्थिक वर्षको पछिल्लो ६ महिनामा मात्र १३ सय ९६ उद्योग हुँदा ८७२ कृषि उद्योग दर्ता भएको उहाँले बताउनुभयो ।

‘दर्ता भएकोमध्ये करीब ६० प्रतिशत कृषि उद्योग छ । पछिल्लो समय कृषि सम्मानित पेसाको रूपमा चिनिँदैछ । विदेशबाट फर्किएका पनि विदेशको सीपले यहाँ कृषि पेसा गर्न थालेका छन्,’ उहाँले भन्नुभयो, ‘प्रदेश र केन्द्र सरकारले कृषिमा अनुदान पनि दिँदै आएको छ । त्यसकारण पनि कृषि उद्योग दर्ता गर्नेको संख्या बढेको छ ।’

उद्योग दर्ता गर्नेको संख्या बढेसँगै कोरोनाका कारण बन्द गर्नेको संख्या पनि उतिकै रहेको अधिकारीले बताए । ‘दैनिक १र२ उद्योग बन्द गर्न आइरहन्छन् । कोरोनाका कारण बन्द गर्नेको संख्या पनि बढेको छ,’ उनले भने, ‘खासगरी उत्पादनमूलक उद्योगहरूले कच्चपदार्थ नपाएर, ढुवानी गर्न नसकेकर यतिको संकट कहिल्यै परेको थिएन । राज्यलाई राजश्व तिर्न सक्दिनँ भनेर बन्द गर्न आउने पनि छन् ।’