खाँदबारी -प्रदेश नं १ सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले नागरिकको सहयोगबाट मात्र प्रहरी परिणाममुखी बन्न सक्ने बताउनुभएको छ । जनताको सुरक्षा गर्न प्रहरीलाई प्रदेश सरकारले सहारा दिइरहने मन्त्री कार्कीले प्रतिवद्धता व्यक्त गर्नुभयो ।
सोमबार सङ्खुवासभाको धर्मदेवी नगरपालिका–७ स्थित आँखीभुइँमा नवनिर्मित इलाका प्रहरी कार्यालयको भवन उद्घाटन कार्यक्रममा कानुनमन्त्री कार्कीले प्रहरीलाई सुख, दुःखमा सधैँ साथ दिन जनतालाई अनुरोध गर्नुभयो । नयाँ भौतिक संरचना तयार भएसँगै अब शान्ति सुरक्षा दिलाउन प्रहरीलाई सहज हुने र यसमा नागरिकको सहयोग पनि उत्तिकै महत्वपूर्ण हुने कानुनमन्त्री कार्कीले बताउनुभयो । मन्त्री कार्कीले भन्नुभयो, “शान्ति प्रहरीकहाँ खोज्ने होइन, प्रहरीलाई समेत शान्ति दिन वातावरण मिलाई दिनुहोला ।”
बाढी, पहिरो, आगलागीजस्ता विपत्मा खटिने प्रहरी नै पानी चुहिने भवनमा बस्नुपर्ने अवस्थाको अन्त्य गर्ने प्रदेश सरकारले अब सुविधासम्पन्न भवन बनाइदिने मन्त्री कार्कीले बताउनुभयो । अपराध नियन्त्रण गर्ने प्रहरी मात्र होइन, आम नागरिक स्थानीयवासीको सहयोग आवश्यक पर्ने उहाँको भनाइ थियो । उहाँले प्रहरी संरचना सङ्घीय सरकारको मातहत रहे पनि प्रदेश सरकार प्रहरी संरचना बलियो बनाउन लागि परिरहेको उल्लेख गर्नुभयो ।
इलाका प्रहरी कार्यालय भवन प्रदेश सरकारको रु दुई करोड ९४ लाख ९४ हजार ६९९ लागतमा निर्माण भएको हो । विसं २०७६ माघमा सम्झौता भएको इलाका प्रहरी कार्यालय भवन समयावधिभन्दा तीन महिनाअघि नै सम्पन्न गरेर हस्तान्तरण गरिएको एसएस विनायक जेभी निर्माण कम्पनीका निर्देशक लाखबहादुर पौडेलले बताउनुभयो ।







प्रतिक्रिया