अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तिलोत्तमा नगरपालिकाले बनायो दुई करोड बढी खर्चेर अतिथि गृह

तिलोत्तमा नगरपालिकाले बनायो दुई करोड बढी खर्चेर अतिथि गृह


रुपन्देही – रुपन्देहीको तिलोत्तमा नगरपालिकाले अतिथि गृह तथा सभाहल निर्माण गरेको छ ।  रु.दुई करोड २२ लाखको लागतमा अतिथि गृह तथा रु.एक करोड ५७ लाखको लागतमा सभाहलको निर्माण भएको छ । वडा नं ९ स्थित केवलानीमा १६ कोठाको अतिथि गृह र एक हजार २०० जना अट्ने क्षमताको सभाहल निर्माण गरेको नगरपालिकाले जनाएको छ ।

सो सभाहलमा हाल कोरोना अस्थायी अस्पताल तथा अतिथि गृहमा अस्पतालमा खटिने स्वास्थ्यकर्मीको आवास व्यवस्थापन गरिएको छ । कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहरमा नगरपालिकाले सभाहलमा ६० शय्याको अस्थायी कोरोना अस्पताल निर्माण गरेको हो ।

महामारी पूर्णरुपमा अन्त्य भएपछि सभाहल तथा अतिथि गृहलाई उद्देश्यअनुरुप सञ्चालन गर्ने नगरपालिकाको तयारी छ । नगरपालिकाले दुई बिघा क्षेत्रफलमा अतिथि गृह र सभाहलको संरचना तयार गरेको नगरपालिकाका योजना प्रमुख इञ्जिनीयर प्रदीप वनले जानकारी दिनुभयो ।

पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य छविलाल विश्वकर्माले आज सभाहलको उद्घाटन गर्दै तिलोत्तमा नगरपालिकाले नगरको भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, वातावरण, सामाजिकलगायत सबै क्षेत्रमा प्रभावकारी काम गरेको बताउनुभयो ।

प्रदेशसभा सदस्य रमा अर्याल, पूर्वप्रदेशसभा सदस्य दधिराम न्यौपानेलगायतले विकास निर्माण तथा महामारी नियन्त्रणमा स्थानीय सरकारको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।

नगर प्रमुख वासुदेव घिमिरेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भयो ।