अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेले घोषणापत्रमा एक वडा, एक खेल पूर्वाधारको संकल्प राखेको छः बाँस्कोटा

एमालेले घोषणापत्रमा एक वडा, एक खेल पूर्वाधारको संकल्प राखेको छः बाँस्कोटा


सर्खेत -नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं खेलकुद महासंघका इन्चार्ज गोकुल बाँस्कोटाले आगामी स्थानीय निर्वाचनमा एमालेले आफ्नो घोषणापत्रमा एक वडा एक खेल पूर्वाधार तथा एक पालिका एक रंगशाला निर्माणको संकल्प उल्लेख गरेर जाने बताउनुभएको छ।

प्रदेश राजधानी वीरेन्द्ननगरमा खेलकुद क्षेत्रको दिगो विकासका लागि महासंघले ‘स्कुल टु युनिभसिर्टी’ एवं ‘क्लब टु कम्युनिटी’ लाई राष्ट्रिय अभियानको रूपमा नेतृत्व गर्नुपर्ने र खेलक्षेत्र तथा खेलाडीलाई राष्ट्रिय पहिचानको रूपमा स्थापित गराउनेतर्फ ध्यान केन्द्रित गर्न सुझाव दिनुभयो।
बुधबार सम्पन्न अधिवेशनले सुरज थापाको अध्यक्षतामा ३३ सदस्यीय प्रदेश कमिटी सर्वसम्मत पनि चयन गरेको छ।
तेक्वान्दोका ब्ल्याक बेल्ट तथा फुटबल र बास्केटबलका क्षेत्रीय खेलाडी थापा यसअघि आयोजक कमिटीका संयोजक रहनुभएको छ। दैलेखका डम्बर बहादुर शाही र सुर्खेतका भीमकुमारी भुसाल उपाध्यक्षमा निर्वाचित हुनुभएको छ।

कालिकोटका भलिबल खेलाडी पंख बहादुर मल्ल सचिव चयन हुनुभएको छ। त्यसैगरी प्रकाश बस्नेत र पदम रावत उपसचिव एवं रवीन्द्र शाही कोषाध्यक्षमा निर्वाचित हुनु भएको छ ।

नेकपा एमालेका स्थायी कमिटी सदस्य यमलाल कँडेलको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई महासंघका केन्द्रीय संयोजक कृष्ण बस्नेतले पद तथा गोपनीयताको शपथ गराउनुभयो।

महासंघका निवर्तमान अध्यक्षसमेत रहेका एमाले केन्द्रीय सदस्य रमेशकुमार पौडेलले सबै जनतालाई एकैसाथ खुशी प्रदान गर्नसक्ने महत्वपूर्ण कडीको रूपमा रहेको खेलकुद क्षेत्रको विकासले मात्रै समृद्ध नेपाल र सुखी नेपालीको आकांक्षा पूरा हुन सक्ने बताउनुभयो।

त्यसैगरी महासंघका केन्द्रीय संयोजक बस्नेतले राष्ट्रिय खेलकुद परिषदको ऐनलाई धज्जी उडाउँदै उपाध्यक्षलाई कार्यकारी अधिकार दिएर खेलकुद मन्त्रीले कहीँ नभएको जात्रा हाँडीगाउँमा भन्ने उखानको चरितार्थ गरेको आरोप लगाउनुभयो। साथै वर्तमान सरकारले खेलकुद क्षेत्रका सन्दर्भमा गरेका निर्णयहरूलाई मसिनो ढंगले हेर्ने हो भने धमिलो पानीमा माछा मार्ने शैलीले आफूलाई खेलविरोधी सरकार भएको प्रमाणित गरिसकेको बताउनुभयो।

अधिवेशनलाई नेकपा एमालेका केन्द्रीय सदस्य एवं प्रचारविभाग उपप्रमुख विष्णु रिजाल, नेपाल रग्वी संघका महासचिव चेतनराज गिरी, राखेप कार्यकारी बोर्ड सदस्य नन्दा बस्याल तथा महासंघका प्रवक्ता उमेश केसी लगायतले सम्बोधन गर्नु भएको थियो।