अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जनता आवास कार्यक्रम : ४३७ घर निर्माणाधीन

जनता आवास कार्यक्रम : ४३७ घर निर्माणाधीन


महेन्द्रनगर – जनता आवास कार्यक्रमअन्तर्गत कञ्चनपुर र कैलालीमा ४३७ दुईकोठे घर निर्माणाधीन अवस्थामा रहेका छन् ।

न्यून आय भएका दलित एवं विपन्न परिवारका लागि सरकारले रु.१० करोड रकम विनियोजन गरेर घर बनाइदिन लागेको हो । गत आर्थिक वर्षदेखि यहाँ उक्त कार्यक्रमअन्तर्गत निर्माणको काम थालिए पनि कोरोना भाइरस सङ्क्रमणका कारण काम प्रभावित बनेको थियो ।

जनता आवास कार्यक्रमअन्तर्गत कञ्चनपुरमा २३७ र कैलालीमा २०० घर निर्माण भइरहेको शहरी विकास तथा भवन कार्यालय धनगढीका प्रमुख गोविन्द देवकोटाले जानकारी दिनुभयो ।

‘चालू आर्थिक वर्षमा ९० प्रतिशत घर निर्माण गरिसक्ने लक्ष्य रहेको छ’, प्रमुख देवकोटाले भन्नुभयो, ‘अहिले घर निर्माणको प्राविधिक र अन्य रेखदेखको काम हामीले नै गरिरहेका छौँ ।’ उहाँका अनुसार कञ्चनपुरको भीमदत्त नगरपालिकामा ६६, कृष्णपुर नपामा ३३, पुनर्वास नपामा ३३, दोधारा–चाँदनी नगरपालिकामा ३९, बेलौरी नपामा ३३ र बेदकोट नपामा ३३ घर बनिरहेका छन् ।

त्यसैगरी कैलालीमा धनगढी उपमहानगरपालिकामा ४२, गोदावरी नपामा २८, गौरीगङ्गा गाउँपालिकामा नौ, घोडाघोडीमा २३, बर्दगोरिया गाउँपालिकामा १४, लम्कीचुहा नगरपालिकामा २७, जानकी गाउँपालिकामा १५, भजनी नगरपालिकामा २१ र टीकापुर नगरपालिकामा २१ घर निर्माण भइरहेका छन् ।

‘उभोक्ता र लाभग्राहीसित सम्झौता भएर घर बन्दैछन्’, प्रमुख देवकोटाले भन्नुभयो, ‘घर बनाउन प्रतिपरिवार रु.तीन लाख ३६ हजार सरकारले दिएको छ ।’ उहाँका अनुसार प्रतिपरिवार र उपभोक्ता समितिले १० प्रतिशत श्रमदान गर्नुपर्ने प्रावधान रहेको छ । घर निर्माणका लागि कैलालीमा रु.पाँच करोड पाँच लाख र कञ्चनपुरमा रु पाँच करोड ७६ लाख रकम विनियोजन गरिएको छ ।