अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

समयमै बजेट पास नहुँदा चितवनमा विकास खर्च न्यून

समयमै बजेट पास नहुँदा चितवनमा विकास खर्च न्यून


चितवन  – शेरबहादुर देउवा नेतृत्वको सरकारले यस आव २०७८/७९ को संशोधित बजेट समयमै संसदबाट पारित गर्न सकेन । समयमै बजेट पारित नहुँदा देशमा बजेट होलिडेसम्मको अवस्था सिर्जना भएपछि त्यसको असर पुँजीगत खर्चमा परेको छ । 

विगतका वर्षहरूमा यसै पनि न्यून पुँजीगत (विकास) खर्च हुने गरेकामा यस आर्थिक वर्षको आठ महिनामा विकास खर्च अत्यधिक कम भएको छ । विगतका आवको यस अवधिसम्मको तुलनामा यस आवमा १० प्रतिशत कम पुँजीगत खर्च भएको कोष तथा लेखा नियन्त्रकको कार्यालय भरतपुरले जनाएको छ ।

कार्यालयका अनुसार चालु आवको फागुन मसान्तसम्म संघतर्फ १६.०९ प्रतिशत र प्रदेशतर्फ १७.३७ प्रतिशत पुँजीगत खर्च भएको छ । पुँजीगत खर्चलाई विकास निर्माणमा गरिने खर्चका रुपमा लिइन्छ । गत आवको यसअवधिमा २५ प्रतिशतभन्दा बढी पुँजीगत खर्च भएको थियो । 

यस आवमा चितवनको लागि संघतर्फ नौ अर्ब ८० करोड ७० लाख २१ हजार  र प्रदेशतर्फ दुई अर्ब ८५ करोड ५६ लाख १२ हजार रुपैयाँ पुँजीगत बजेट प्राप्त भएको थियो ।

फागुन मसान्तसम्म संघतर्फ एक अर्ब ५७ करोड ५८ लाख ६४ हजार र प्रदेशतर्फ ४९ करोड २१ लाख ५७ हजार रुपैयाँ पुँजीगत खर्च भएको कोष तथा लेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।

देउवा सरकारले संशोधित बजेट संसदबाट पास गर्ने क्रममा बजेट होलिडेको अवस्था सिर्जना भएकाले पुँजीगत खर्च सोचे जति नभएको कार्यालयका सूचना अधिकारी एवं कोष नियन्त्रक मुक्तिप्रसाद चापागाईले बताउनुभयो ।

‘यतिबेलासम्म त पुँजीगत खर्च २५ प्रतिशतभन्दा बढी हुनुपर्ने हो’, उहाँले भन्नुभयो, ‘पुँजीगत खर्चमा बजेट होलिडेको प्रभाव परेको हो।’