अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सातवटा आधार सहित सिट वाँडफाँड गर्ने गठबन्धनको निर्णय

सातवटा आधार सहित सिट वाँडफाँड गर्ने गठबन्धनको निर्णय


काठमाडौ -पाँच दलीय गठबन्धनले वैशाख ३ गतेभित्र नगरपालिका र गाउँपालिकाका प्रमुख–उपप्रमुख तथा अध्यक्ष–उपाध्यक्षको सिट बाँडफाँट गर्न जिल्ला संयन्त्रलाई निर्देशन दिएको छ।
प्रधानमन्त्रीको निवास बालुवाटारमा मंगलबार बसेको गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रले वैशाख ३ गतेभित्र नगरपालिका र गाउँपालिकाको सिट बाँडफाँट गर्न जिल्ला संयन्त्रलाई निर्देशन दिएको हो।
केहीबेर अघि सम्पन्न बैठकपछि सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भन्नुभयो, ‘नगरपालिका र गाउँपालिकाका प्रमुख–उपप्रमुख तथा अध्यक्ष–उपाध्यक्षको सिट बाँडफाँट गरी वैशाख ३ गतेभित्र प्रदेश संयन्त्रलाई जिल्ला संयन्त्रले सिफारिस गर्ने निर्णय गरिएको छ।’

कार्कीले जिल्ला संयन्त्रले गरेको सिफारिसअनुसार प्रदेश संयन्त्रले वैशाख ५ गतेभित्र केन्द्रलाई सिफारिस गरिसक्नुपर्ने निर्णय गरिएको पनि जानकारी दिनुभयो
बैठकले महानगर र उपमहानगरका प्रमुख र उपप्रमुखको सिट बाँडफाँट पाँच दलीय गठबन्धनको केन्द्रीय संयन्त्रले गर्ने निर्णय गरिएको बताउनुभयो।

महानगर, नगर र गाउँपालिकाका वडा अध्यक्ष तथा सदस्यहरुको सिट बाँडफाँटको निर्णय जिल्ला संयन्त्रले वैशाख ३ भित्र टुंगो लगाउने पनि दलहरुले सहमति गरेका छन्।

प्रदेश तथा जिल्ला संयन्त्रमा प्रत्येक दलको प्रमुखसहित दुई–दुई जना प्रतिनिधि रहने प्रवक्ता कार्कीले जानकारी दिनुभयो।

उहाका अनुसार प्रत्येक तहको संयन्त्रमा निर्णय लिनका लागि सम्बन्धित पार्टीले आ–आफ्नो आवश्यकता अनुसार प्रतिनिधि आमन्त्रण गर्न सकिने दलहरुबीच सहमति भएको छ।

सहमतिअनुसार सबै तहका संयन्त्रको बैठकको संयोजन सम्बन्धित तहका सभापतिले गर्ने बताइएको छ।

गठबन्धनभित्र सिट बाँडफाँटका आधारहरु पनि बैठकले तय गरेको कार्कीले जानकारी दिनुभयो।

ती आधारहरु यस्ता छन्
१. २०७४ को स्थानीय तह निर्वाचनमा प्रमुख पदमा विजयी नेकपा एकीकृत समाजवादी कायम रहेका जनप्रतिनिधिहरुलाई यसै अनुसार मान्ने।

२. २०७४ को स्थानीय तह निर्वाचनमा दलका उम्मेदवारहरुले पालिका, वडामा प्राप्त मतको मतभार।

३. २०७४ को स्थानीय तह निर्वाचनमा विजय प्राप्त गरेको नभएता पनि स्थानीय तहमा उपस्थिति रही यथाशक्य गठबन्धनभित्र अन्य दललाई पनि सहभागी गराउने।

४. २०७४ को स्थानीय तह निर्वाचनमा गठबन्धनबाहेकका दल विजयी स्थानमा गठबन्धनभित्रका दलहरुले उक्त निर्वाचनमा प्रमुख पदमा प्राप्त मतलाई आधार बनाउने।
यसका साथै उक्त तहमा दलका उम्मेदवारहरुले प्राप्त गरेको मतभारलाई पनि आधार बनाउने।

५. नेकपा एकीकृत समाजवादीले २०७४ को निर्वाचनमा उक्त पार्टीको रुपमा सहभागी नभएको हुँदा माथि बुँदा नम्बर ४ मा उल्लेखित आधारहरुले मात्र नहुने र उक्त पार्टी नेकपा एमाले विभाजित भएर बनेको मुख्य शक्ति रहेको यथार्थलाई मनन् गर्ने।

६. गठबन्धनमा रहेका दलहरुबीच सिट बाँडफाँट गर्दा माथि उल्लेखित आधारहरुका अतिरिक्त वर्तमान समयमा गठबन्धनका दलहरुको संगठनात्मक अवस्था र जनसमर्थनलाई पनि महत्वसाथ ध्यान दिने।

७. गठबन्धनभित्र रहेका दलहरुबीच मात्र चुनावी तालमेल गर्न पाउने।