बुटवल – एमालेका उपाध्यक्ष विष्णु पौडेलले सत्तारुढ दलको चुनावी गठबन्धन बालुवा र तासको घर भएको बताउनुभएको छ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा एमाले उम्मेदवारहरूको अभिमुखीकरण एवं अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले बालुवा र तासको घरजस्तै चुनावमा गठबन्धन पनि भताभुंग हुने बताउनुभयो । ‘एमालेका निम्ति गठबन्धन केही होइन, केपी ओली र एमालेप्रतिको बढ्दो आकर्षणले एमालेले चुनाव जितिसकेको छ,’ पौडेलले भन्नुभयो ।
एमाले नेतृत्वमा रहँदा संघ, प्रदेश र स्थानीय सरकारले गरेका राम्रा काम र आगामी योजना बनाएर चुनावमा मत माग्न जान पनि उहाँले कार्यकर्तालाई निर्देशन दिनुभयो । टिकट वितरणलाई लिएर असन्तुष्टि व्यक्त गर्ने छुट एमालेका कुनै कार्यकर्तालाई नभएको उहाँको भनाई छ ।
‘कोही व्यक्ति असन्तुष्टिको नाममा चुनावमा खटिँदैन, पार्टीलाई हराउन लाग्छ भने त्यो उसको निम्ति ठूलो भूल हुनेछ, पार्टीका अगाडि व्यक्ति केही होइन,’ उहाँले भन्नुभयो । उपाध्यक्ष पौडेलले चुनावमा टिकट पाउनका लागि मात्रै राजनीति नभएको बताउनुभयो । ‘टिकट पाउनका लागि मात्रै राजनीति गर्नेहरू एमाले हुनै सक्दैनन्,’ उहाँले भन्नुभयो ।
एमाले पोलिटब्यूरो सदस्य तथा लुम्बिनी प्रदेश सहइन्चार्ज लीला गिरीले सरकारमा रहँदा गरेको राम्रा कामका कारण जनतामा एमालेप्रतिको आकर्षण बढेको बताउनुभयो । अर्का पोलिटब्यूरो सदस्य एवं लुम्बिनी प्रदेश सहइन्चार्ज दधिराम न्यौपानेले मार्क्सवाद र साम्यवादको झोला बोकेर रुखमा भोट हाल्दै समाजवादमा पुग्छौं भन्नेहरूको सपना तुहिन लागेको बताउनुभयो ।
प्रतिक्रिया