अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले रामेछाप नगरको प्रतिबद्धता : खुल्ला कृषि पाठशाला सञ्चालनदेखि प्रदेशस्तरीय रंगशाला निर्माण सम्म

एमाले रामेछाप नगरको प्रतिबद्धता : खुल्ला कृषि पाठशाला सञ्चालनदेखि प्रदेशस्तरीय रंगशाला निर्माण सम्म


रामेछाप – नेकपा एमाले रामेछाप नगरपालिकाले स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गरेको छ । समृद्ध रामेछाप नगरपालिका, सुखी रामेछाप नगरवासी भन्ने नारासहित ५० बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेको हो ।

एमालेले रामेछाप नगरपालिकामा रोशन पाख्रिनलाई मेयर र सीता कुमारी खत्रिलाई उपमेयरमा उम्मेदवार बनाएको छ । रामेछाप नगरपालिकाको नगर प्रमुख र उपप्रमुख जिल्लामा नै सबैभन्दा पहिले सर्वसम्मत चयन गरेको हो ।

पार्टीले २०७४ सालको स्थानीय निर्वाचनमा पनि पाख्रिनलाई नै मेयरको उम्मेदवार बनाएको थियो । उहाँ न्यून मतान्तरमा पराजित हुनुभएको थियो । नेपाली कांग्रेसका नरबहादुर थापा मगरले ४ हजार ४०१ मत प्राप्त गर्दा पाख्रिनले ४ हजार ३०० मत प्राप्त गर्नुभएको थियो ।

पाख्रिनले यस पटक शानदार मत ल्याएर आफू निर्वाचित हुने दाबी गर्दै आउनुभएको छ । रामेछाप नगरपालिकामा एमाले एक्लै चुनावी मैदानमा होमिएको छ । देशभर गठबन्धन भएपनि रामेछापमा भने सत्ता गठबन्धनबीच भागबण्डा नमिन्दा कांग्रेसबिना माओवादी केन्द्र र एकीकृत समाजवादीले गठबन्धन गरेका छन् ।

एमालेले प्रतिबद्धता पत्रमा रामेछाप नगरपालिकाले खुल्ला कृषि पाठशाला सञ्चालन गर्ने घोषणा गरेको छ । रामेछाप नगरमा प्रत्येक वडामा १ जना कृषि प्राविधिकको व्यवस्था, हरेक वडामा सहकारी मार्फत कृषि उपज खरिद विक्री केन्द्रको व्यवस्था सहकारी र कम्पनीहरु मार्फत ठूलो परिमाणमा कृषि तथा पशुपालन गर्न प्रोत्साहित गरिने, उच्च मुल्य प्राप्त हुने वाली एवं तरकारी खेतीको पकेट क्षेत्रको रुपमा विकास गर्ने एमालेले जनाएको छ ।

व्यवसायिक रुपमा पशु, पंक्षी, माछा र मौरी पालन गर्न चाहने कृषकहरुलाई व्यवसायिक योजनाको आधारमा अधिकतम ५० प्रतिशत अनुदान दिने व्यवस्था गरिने प्रतिबद्धता पत्रमा उल्लेख छ ।

नगरले शिक्षामा पहुँच विस्तार र गुणस्तर सुधार गर्न नगरपालिका भित्र प्राविधिक धारको शिक्षा विस्तार गरि प्रतिबद्धता पत्रमा उल्लेख छ । स्थानीय पाठ्यक्रमलाई निरन्तर सुधार गरी सान्दर्भिक बनाइनुका साथै मगर, तामाङ र नेवारी भाषी विद्यार्थी बाहुल्यता भएको आधारभुत विद्यालयहरुमा मागका आधारमा मातृभाषा पठन पाठनको व्यवस्था गरिने जनाएको छ । नगर भित्रका विभिन्न जातजातिहरुको पहिचान र मौलिक संस्कृति प्रर्वद्धन गर्न जातिय संग्राहलय स्थापना गर्ने एमालेको लक्ष्य छ ।

एमालेले नगरपालिका भित्र कमसेकम एउटा प्रदेशस्तरीय खेलमैदान÷रंगशालाको विकास गर्ने र नगरपालिका भित्रका विभिन्न क्षेत्रका राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरुको अभिलेख तयार गरी सम्मान गर्नुका साथै नगरको खेलकुद विकासमा उनीहरुलाई उपयोग गर्ने नीति लिएको छ ।

गुणस्तरिय स्वास्थ्य सेवामा पहुँच वृद्धि गर्न प्रदेश सरकार सँग सहकार्य गरी जिल्ला अस्पतालको विशेषज्ञ सेवालाई थप व्यवस्थित बनाइनेछ । ‘नगरपालिकाका सबै स्वास्थ्य संस्थालाई भवन, जनशक्ति र संसाधनयुक्त बनाइनेछ । सबै वडाहरुका स्वस्थ्य संस्थामा २४ घण्टे प्रसुतिसेवा संचालन गरी गर्भ जाँच, प्रसुति जाँच र स्वास्थ्य संस्थामा सुत्केरी गराउने कार्यक्रमलाई व्यवस्थित बनाई थप प्रवर्धन गरिनेछ ।’ ‘प्रतिबद्धता पत्रमा भनिएको छ, विपन्न, दिर्घरोगी, जेष्ठ नागरिक र अशक्तहरुलाई ध्यानमा राखि निःशुल्क रुपमा एम्बुलेन्स सेवा, औषधी वितरण, स्वास्थ्य विमामा अनुदान, स्वास्थ्य शिविर तथा घरदैलोमा स्वस्थ्य परिक्षणका कार्यक्रमहरु संचालन गरिनेछ ।

एमालेले वडा कार्यालयबाट नगर केन्द्रसम्म जोडिने सडकलाई कालोपत्रे गर्ने, रामेछाप बजारमा रिङ रोड बनाई कालोपत्रे गर्ने, नगर बस सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ । त्यसैगरी विद्युतिय सवारीहरुलाई प्रोत्साहन गर्न सम्भाव्यताको आधारमा नगरका प्रमुख बजारमा विद्युतिय चार्जिङ स्टेसनहरु बनाउन लागि पर्ने बताइएको छ ।

रामेछाप बजार र साँघुटार बजारलाई सडक, नाला ढल निकास, खानेपानी, विद्युत लगायतको व्यवस्था गरी आधुनिक ग्रामीण सहरको रुपमा विकास गरिने पत्रमा उल्लेख छ । स्थानीय सांस्कृतिक महोत्सव, मेला, पर्व एवं जात्राहरूको सञ्चालन तथा व्यवस्थापन, ऐतिहासिक, धार्मिक, साँस्कृतिक एवं पुरातात्विक महत्त्वका सम्पदाहरूको जीर्णोद्धार, संरक्षण र संबर्धनसम्बन्धी कार्यहरू गरिने नीति एमालेले लिएको छ ।