अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अर्घाखाँचीमा किन छोरी कम जन्मिए ?

अर्घाखाँचीमा किन छोरी कम जन्मिए ?


अर्घाखाँची- अवैधानिक रुपमा लिङ्ग पहिचान गरेर छोरा भए राख्ने तर छोरी भए गर्भपतन गराउने कारणले यहाँ छोरी कम जन्मिएका छन् ।
चालु आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म जिल्लामा एक हजार १८ बालबालिका जन्मिएकामा छोरा ५ सय २० र छोरी ४ सय ९८ रहेको जिल्ला स्वास्थ्य कार्यालयका तथ्यांक शाखाका बसन्त पोख्रेलले जानकारी दिनुभयो । पछिल्ला दुई वर्षको तथ्यांक हेर्दा पनि जन्मिएका छोरीको संख्या कम छ । गएको वर्ष अर्थात् २०७७र७८ मा ७ सय ५२ छोरा र ६ सय २१ छोरी जन्मिएका छन् ।
०७६र७७ मा कूल एक हजार ३ सय ४० बच्चा जन्मिएकामा ६ सय २२ छोरी र ७ सय १८ छोरा रहेको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी विजय बरालले बताउनुभयो । जिल्ला स्वास्थ्य कार्यालयलगायत जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतनको सुविधा छ । मानिस अवैधानिक रुपमा जिल्ला बाहिर जानेर र भ्रुण जाँच गरी गर्भपतन गर्ने बढिरहेका बताइएको छ ।

जिल्लामा गत साउनदेखि यता फागुन मसान्तसम्म ४७७ ले स्वास्थ्य संस्थामा गई सुरक्षित गर्भपतन सेवा लिएका छन् । गएको वर्ष ०७७र७८ मा ६ सय ५७ र आर्थिक वर्ष ०७६र७७ मा ६ सय ५३ जनाले सूचीकृत स्वास्थ्य संस्थामा गई गर्भपतन सेवा लिएको जनाइएको छ ।

सन्धिखर्क नगरपालिकासहित जिल्लाभर छोराको तुलनामा छोरी कम जन्मन थालेपछि छोरी जन्माउने परिवारमा उत्साह थप्न नगरपालिकाले नगर प्रमुख खुत्रुके बचत योजना सुरु गरेको छ । नगरपालिकाले छोरीको खातामा रु तीन हजार जम्मा गर्न सुरु गरेपछि स्थानीय बालिकाका अभिभावक पनि खुसी भएका छन् ।

अवैधानिक रुपमा भ्रुण जाँच गरी छोरा भए राख्ने छोरी भए गर्भपतन गर्ने बढेपछि छोरी जन्मिए उनीहरुको खातामा नगरपालिकाले रु तीन हजार राखिदिने भएको हो । सन्धिखर्क नगरपालिकाका स्थायी बासिन्दा भई स्वास्थ्य संस्थामा आर्थिक वर्षको साउनदेखियता जन्मिएका छोरीहरुको निःशुल्क खाता खोली त्यो खातामा रकम जम्मा गरिदिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताउनुभयो ।

सो नगरपालिकामा गत आर्थिक वर्ष ०७७र७८ मा ५९८ बालबालिका जन्मिएका छन् । जन्मिएका बालबालिकामध्ये २ सय ९१ बालक र २ सय ६७ बालिका रहेर्को नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पूर्ण पराजुलीले बताउनुभयो ।