काठमाडौं – कन्सल्टेन्सी सञ्चालक मनोज पाण्डेले यौन शोषण गरेको भन्दै अर्की युवती पनि प्रहरी सम्पर्कमा पुगेकी छन्।
आज उपत्यका प्रहरी अपराध महाशाखामा पुगेर ती युवतीले आफू पनि पाण्डेबाट यौन शोषणमा परेको बताएकी छन् ।
स्रोतका अनुसार शनिबार प्रहरीले पाण्डेलाई पक्राउ गरे लगत्तै उनले सामाजिक सञ्जालमार्फत प्रहरीलाई सम्पर्क गरेकी थिइन्।
आज उनले महाशाखामै पुगेर घटना बारे बताएको स्रोतले जानकारी दिएको छ।
यसअघि सुन्दरी प्रतियोगितामा सहभागी किशोरीले पाण्डेबाट यौन शोषणमा परेको भन्दै सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेकी थिइन्। उनले घटना सार्वजनिक गरेसँगै दोषीलाई तत्काल कारबाही गर्न सडकदेखि संसदसम्म आवाज उठेको थियो।
त्यसलगत्तै सरकारले घटनाको अनुसन्धान गर्न एसएसपी कुँवरको नेतृत्वमा ५ सदस्यीय अनुसन्धान समिति बनाएको थियो। समितिले शुक्रबार देखि नै अनुसन्धान गरिरहेको छ।
शनिबार पक्राउ परेका पाण्डेलाई प्रहरी बृत्त नयाँ बानेश्वरको हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ। उनीविरुद्ध ती किशोरीले पनि सोमबार जाहेरी दिने तयारी गरेकी छन्।
प्रतिक्रिया