अर्घाखाँची – अर्घाखाँचीका ६ स्थानीय तहमा प्रमुख-उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष गरी १२ पदमध्ये ८ पदमा विजयी भएपछि एमाले अर्घाखाँचीमा पहिलो दल बनेको छ ।
कांग्रेससहितको ५ दलीय गठबन्धन चार पदमा मात्रै विजयी भयो । २०७४ को स्थानीय तहमा ६ स्थानीय तहमध्ये ४ तहमा कांग्रेस-माओवादी चुनावी तालमेल भएको थियो । मालारानी गाउँपालिकाका दुवै पद र पाणिनिको उपाध्यक्ष पदमा मात्रै एमाले विजयी भएको थियो ।
६ पालिकाको १२ मध्ये ३ पद मात्रै जितेको एमालेले अहिले गठबन्धनलाई पराजित गर्दै ८ पदमा विजयी भएको छ । कांग्रेस दुई, माओवादी र राष्ट्रिय जनमोर्चा (राजमो) एक–एक पदमा मात्रै विजयी भए ।
पाणिनि गाउँपालिका अध्यक्षमा एमालेका टेकराज न्यौपाने र उपाध्यक्षमा नर्मदा पौडेल निर्वाचित भएपछि कांग्रेसको गढ भत्किएको छ । सन्धिखर्क नगरपालिकामा दोस्रो पटक चुनाव लडेर एमालेका कृष्णप्रसाद श्रेष्ठले गठबन्धनलाई पराजित गर्दै नगर प्रमुख पदमा विजयी हुनुभयो । उपप्रमुखमा एमालेकी मिश्रा आचार्य विजयी भएपछि गठबन्धनले विरासत रोक्न सकेन । श्रेष्ठ अघिल्लो चुनावमा कांग्रेसका कमलप्रसाद भुसालसँग पराजित हुनुभएको थियो ।
एमालेबाट मालारानी गाउँपालिका अध्यक्ष दलबहादुर भटराई, उपाध्यक्ष दीपा पोखरेल निर्वाचित हुनुभयो। शितगंगा नगरपालिका उपप्रमुखमा एमालेकी गीता भाट निर्वाचित हुनुभयो । भाट अघिल्लो चुनावमा ९६ मतान्तरले माओवादीका टीका रेश्मीसँग पराजित हुनुभएको थियो । अहिले गठबन्धनका उम्मेदवार उनै रेश्मीलाई २२ सय ३१ मतान्तरले पराजित गरेर उपप्रमुख पदमा निर्वाचित हुनुभयो ।
अर्घाखाँचीमा कांग्रेस, माओवादी, राजमो, समाजवादी र जसपा ५ दलीय गठबन्धन पूर्ण रुपमा सफल हुन सकेको छैन ।
आफू जिल्ला सभापति हुँदा ५ स्थानीय तहमा कांग्रेस उम्मेदवारलाई जिताएका विष्णुप्रसाद खनालले यसपटक कांग्रेस उम्मेदवारको लज्जास्पद हार भएकाले कांग्रेस लुम्बिनी प्रदेश सहमहामन्त्री पदमबाट मतगणना जारी रहँदाकै बेला राजीनामा दिनुभएको थियो । गठबन्धन नराम्रोसँग एमालेसित पराजित भएको छ ।
एमाले केन्द्रीय सचिव टोपबहादुर रायमाझी एक वर्ष देखि नै गाउँमा घरदैलो गर्नुभएको थियो । केन्द्रीय सदस्यद्वय चन्द्रबहादुर खड्का, चेतनारायण आचार्य, नेता रामजी घिमिरेलगायतका जिल्ला स्तरीय नेताहरुलाई लिएर रायमाझी गाउँ डुल्नुभएको थियो । यसरी स्थानीय तह जित्नुमा एमालेको बलियो संगठन, सरकारमा हुँदा एमालेले गरेका राम्रा कामको प्रचार, टोल वस्तीमा पुगेर जनताका गुनासा सुन्दै संगठन निर्माण, ६० प्रतिशत जति माओवादी कार्यकर्ता एमालेमा प्रवेश गरेकाले स्थानीय तह धेरै जित्न सफल भएको एमाले जिल्ला अध्यक्ष पिताम्बर भुसालले बताउनुभयो ।
जिल्लाका ६१ वडामध्ये ३० वडाध्यक्ष एमालेका, कांग्रेसका २४, माओवादीका ४ र राष्ट्रिय जनमोर्चाका ३ वडाध्यक्ष निर्वाचित भएका छन् । कार्यपालिका गठनमा बहुमत चाहिन्छ । गठबन्धनको सन्धिखर्क र पाणिनि गाउँपालिकामा मात्रै बहुमत छ । २०७४ को चुनावमा वडामा एक्लै लड्दा कांग्रेसले २६ वडाध्यक्ष जितेको थियो । गठबन्धन हुँदा २४ मा झर्यो । त्यतिबेला एमालेले २५ वडाध्यक्ष जितेको थियो, अहिले ३० पुर्याएको छ ।





प्रतिक्रिया