अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले अध्यक्ष ओलीको गृहजिल्ला झापामा एमालेको एकल बहुमत, माओवादी शुन्यमा

एमाले अध्यक्ष ओलीको गृहजिल्ला झापामा एमालेको एकल बहुमत, माओवादी शुन्यमा


झापा – स्थानीय निर्वाचनको मतपरिणामलाई हेर्दा झापामा एमालेको एकल बहुमत जुटेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला समेत रहेको झापामा एमालेले बहुमत पाएको हो ।

जिल्ला समन्वय समिति गठनकालागि गठबन्धनकलाई हराउँदै बहुमत पालिकामा एमालेको जीत भएको हो । नेपाली कांग्रेस र सत्ता गठबन्धनलाई चारवटा पालिकामा प्रमुख जिताउन सहयोगी बनेको नेकपा माओवादी केन्द्र भने झापामा कतै पनि जित्न नसकी शून्य बनेको छ ।

झापाका १५ वटा स्थानीय तहमध्ये ओलीको निर्वाचन क्षेत्रमा सत्ता गठबन्धन र राप्रपा समेतको तालमेल भएको थियो भने अन्यत्र कांग्रेस र माओवादीले मात्र तालमेल गरेर नेकपा एकीकृत समाजवादी र जसपालाई बाहिर राखेका थिए ।

अन्तिम नतिजा आउँदा कांग्रेसले माओवादीको सहयोगमा पालिकाको प्रमुख जित्यो तर उपप्रमुख पाएको माओवादीले कतै पनि जित निकाल्न सकेन । भद्रपुर नगरपालिकामा गठबन्धनबाट कांग्रेसका गणेश पोखरेल मेयर बन्दा माओवादीका उपमेयर उम्मेदवार शिवकुमार राजभण्डारी पराजित हुनुभयो । त्यहाँ राप्रपाकी राधा कार्की बिजयी बन्नुभयो ।

त्यस्तै कमल गाउँपालिकामा कांग्रेसका हुकुमसिंह राई ३ हजार मतान्तरमा अध्यक्षमा बिजयी हुँदा माओवादीका उपाध्यक्ष उम्मेदवार पर्शुराम सुवेदी २५ सय मतान्तरले एमालेकी प्रमिला सुवेदीसँग पराजित हुनुभयो ।

बुद्धशान्ति गाउँपालिकामा गठबन्धनबाट कांग्रेसका मनोज प्रसाई ३ हजार मतान्तरले अध्यक्ष जित्दा उपाध्यक्षमा माओवादीका खड्ग तिम्सिना ३ हजार मतान्तरले नै पराजित हुनुभयो । कांग्रेस र माओवादीले गठबन्धन गरेकामध्ये बिर्तामोड, अर्जुनधारा, शिवसताक्षी, कनकाइ, गौरादह, बाह्रदशी नगरपालिकामा दुवै पद एमालेले जितेको छ भने मेचीनगर नगरपालिकामा पनि एमालेले जितेको छ । दमकमा भने राप्रपालाई मेयर र कांग्रेसलाई उपमेयर बनाएर माओवादी केन्द्र तथा नेकपा एस मतदातामा सिमित बनेका छन ।

जिल्लाभरीको मतगणनाको परिणाम आउँदा एमालेले बहुमत पालिका जितेर जिल्ला समन्वय समिति एक्लै गठन गर्ने हैसियत बनाएको छ । परिणामअनुसार कांग्रेसले बुद्धशान्ति, झापा, कचनकवल, कमल, गौरीगञ्ज गाउँपालिका र भद्रपुर नगरपालिकाको प्रमुख जितेको छ । तीमध्ये झापा र भद्रपुरबाहेक अन्य पालिकाको उपप्रमुख एमालेले जितेको छ । राप्रपाले दमकको मेयर र हल्दिबारी गाउँपालिकाको अध्यक्ष–उपाध्यक्ष दुवै जितेको छ । एमालेले मेची नगर, बिर्तामोड, अर्जुनधारा, कनकाई, बाह्रदशी, शिवसताक्षी र गौरादह नगरपालिका जितेको छ । झापाको १५ पालिकाबाट निर्वाचित हुने ३० मतदातामध्ये एमाले एक्लैले १८ पदमा जीत निकालेको छ ।

दमकमा पनि प्रमुख उपप्रमुख गुमाएको एमालेले नगरसभामा दुई तिहाई सीट जितेको छ । दमक नगरसभाका ५२ सदस्यमध्ये ३९ एमालेबाट निर्वाचित भएका छन । १३ जना मात्र गठबन्धनबाट विजयी भएका हुन ।

कांग्रेस, माओवादी र राप्रपासहितको गठबन्धनले नगर प्रमुख र उपप्रमुख जिते पनि सभामा एमालेको दुई तिहाई बहुमत पुगेको हो । दमकका १० वडामध्ये एमालेले सातवटा वडामा जित निकालेको छ । वडा नम्बर ७ मा मात्र गठबन्धनका सबै उम्मेदवार विजयी भएका छन । बाँकी तीन वडामा वडाध्यक्ष जिते पनि सदस्य गुमाएको छ । एमालेले १, २, ३, ५, ६, ८ र ९ वडा जित्दा गठबन्धन ४, ७ र १० मै चित्त बुझाउन बाध्य भएको छ ।

१५ पालिकामा निर्वाचित प्रमुख–उपप्रमुखहरू

१. दमक नगरपालिका

प्रमुख ः रामकुमार थापा, राप्रपा

उपप्रमुख ः रेगिना भट्टराई, कांग्रेस

२. अर्जुनधारा नगरपालिका

प्रमुख ः बलदेव सिंह गोम्तेन तामांग, एमाले

३. उपप्रमुख ः खडगमाया पराजुली, एमाले

४. कन्काई नगरपालिका

प्रमुख ः राजेन्द्रकुमार पोखरेल, एमाले

उपप्रमुख ः आशा शिवाकोटी, कांग्रेस

५. गौरादह नगरपालिका

प्रमुख ः छत्रपति सुवेदी, एमाले

उपप्रमुख ः जलबर्षा राजबंशी, एमाले

६. भद्रपुर नगरपालिका

प्रमुख ः गणेश पोखरेल, कांग्रेस

उपप्रमुख ः राधा कार्की, राप्रपा

७. मेचीनगर नगरपालिका

प्रमुख ः गोपालचन्द्र बुढाथोकी, एमाले

उपप्रमुख ः मीनाकुमारी पोखरेल, एमाले

८. बिर्तामोड नगरपालिका

प्रमुख ः पबित्रादेवी महतारा, एमाले

उपप्रमुख ः नगेन्द्रप्रसाद संग्रौला, एमाले

९. शिवशताक्षी नगरपालिका

प्रमुख ः मेगाहाङ्ग थोप्रा, एमाले

उपप्रमुख ः नरमाया कार्की, एमाले

१०. गौरीगञ्ज गाउँपालिका

प्रमुख ः फुलमति राजबंशी, कांग्रेस

उपप्रमुख ः पुजन न्यौपाने कुँवर, एमाले

११. झापा गाउँपालिका

प्रमुख ः जयनारायण शाह, कांग्रेस

उपप्रमुख ः अञ्जुदेवी थपलिया, कांग्रेस

१२. कचनकवल गाउँपालिका

प्रमुख ः कालेन्द्र सिंह राजबंशी, कांग्रेस

उपप्रमुख ः नवराज भट्टराई, एमाले

१३. बाह्रदशी गाउँपालिका

प्रमुख ः देवीन्द्रप्रसाद चम्लागाई, एमाले

उपप्रमुख ः शान्तादेवी शिवाकोटी, एमाले

१४. बुद्धशान्ति गाउँपालिका

प्रमुख ः मनोज प्रसाई, कांग्रेस

उपप्रमुख ः भवानीप्रसाद खतिवडा, एमाले

१५. हल्दिबारी गाउँपालिका

प्रमुख ः रबिन्द्रप्रसद लिंदेल, राप्रपा

उपप्रमुख ः लक्ष्मीदेवी मैनाली, राप्रपा