चितवन – भरतपुर महानगरपालिकाको मेयरमा दोस्रो कार्यकालका लागि निर्वाचित रेणु दाहालले भरतपुरलाई स्मार्ट सिटी बनाउने संकल्प पूरा गर्ने बताउनु भएको छ ।
मेयरमा निर्वाचित भएपछि प्रतिक्रिया दिँदै दाहालले दोस्रो कार्यकालमा आफ्नो संकल्प पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
‘भरतपुरलाई देशकै हेर्न लायक, गर्व गर्न लायक । देशकै नमूना स्मार्ट सिटीको जुन संकल्प छ । त्यसलाई पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दछु’, उहाँले भन्नुभयो । दोस्रो कार्यकाल नै आफ्नो अन्तिम कार्यकाल भएको बताउँदै उहाँले जनतालाई निराश नबनाउने दाबी गर्नुभयो ।
आफूले दिने योगदानमा कुनै कमी नगर्ने भन्दै उहाँले यहाँको आवश्यकता र प्राथमिकताका आधारमा काम गर्दै जाने बताउनु भयो । महानगरमा निर्माणाधीन सिटी हल, प्रशासनिक भवन, नारायणी नदी तटबन्धन, क्रिकेट रंगशाला, रिङरोड लगायतका ठूला गौरवका आयोजनालाई प्राथमिकता दिने उहाँले बताउनु भयो । महानगरमा ढल व्यवस्थापनका लागि डीपीआर तयार भइसकेको दाबी गर्दै उहाँले आगामी आर्थिक वर्षदेखि सुरु हुने गरी काम थाल्ने बताउनु भयो । अबको कार्यकालमा महानगरमा बेरोजगारीको अन्त्य गर्ने उहाँले दाबी गर्नुभयो । स्थानीय सरकार राजनीति गर्ने ठाउँ नभएको भन्दै उहाँले काममा अनावश्यक अवरोध नआउने उहाँले विश्वास व्यक्त गर्नु भयो ।
प्रतिक्रिया