अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जति गरेँ, इमान्दारितापूर्वक गरेँ : निवर्तमान मेयर श्रेष्ठ

जति गरेँ, इमान्दारितापूर्वक गरेँ : निवर्तमान मेयर श्रेष्ठ


ललितपुर- महालक्ष्मी नगरपालिकाका निवर्तमान मेयर रामेश्वर श्रेष्ठले नगरबासीलाई धन्यवाद दिएका छन् । उहाँले आफ्नो कार्यकालमा नगरको जग बसाएकाले नयाँ जनप्रतिनिधिलाई सहज हुनेसमेत बताएका छन् ।

नगर प्रमुख श्रेष्ठको विज्ञप्तीको पूर्णपाठ

महालक्ष्मी नगरपालिका, ललितपुरको संस्थापक प्रमुखको रुपमा पाँच वर्षे कार्यकाल पूरा भएको छ । नगर प्रमुखमा निर्वाचित गर्नुहुने आदरणीय नगरबासी आमाबुवा, दिदीबहिनी तथा दाजुभाइहरुप्रति नमन गर्दछु ।

विद्यार्थी जीवनदेखि नै राजनीतिमा प्रवेश गरेको, सामाजिक कार्य गरेको र सामाजिक उत्तरदायित्व निर्वाह गरेको केवल पद र प्राप्तीका लागि मात्रै थिएन । चार दशक लामो राजनीतिक जीवनमा केवल आवधिक जिम्मेवारीका लागि म नगर प्रमुख भएर प्रवेश गरेको थिएँ । संस्थापक नगर प्रमुखको रुपमा रहेर नगरपालिकाको जग बसाल्ने, विकासका पर्याप्त पूर्वाधार तयार गर्ने, चुस्त सेवा प्रवाह, सुशासन र पारदर्शिता कायम गर्न मेरो नेतृत्वदायी भूमिका रह्यो । ३० वैशाख २०७९ मा भएको स्थानीय तहको निर्वाचनबाट आएका जनप्रतिनिधिलाई पक्कै पनि पहिलो दिनदेखि नै नियमित काममा प्रवेश गर्न सहज हुने विश्वास लिएको छु ।
पाँच वर्षे अवधिमा राजनीतिक रुपमा धेरै उतार चढावहरु आए । राजनीतिक दलहरुमा पनि अनेक बदालवहरु देखा परे । कार्यकालको अन्तिमतिर त नगरको पनि शक्ति सन्तुलन नै फरक पर्ने अवस्था रह्यो । यही बीचमा विश्वभर फैलिएको कोरोना महामारीको भयावह अवस्थाको सामना गर्नुपर्ने अवस्था रहयो । नगरबासीको जीवन सुरक्षा प्रदान गर्ने दायित्व स्थानीय सरकारको थियो ।

अझ सुरुवाती दिनदेखि नै कानूनी र भौतिक पूर्वाधारको अभाव पनि भोग्नुपर्‍यो । स्थानीय सरकारप्रति नगरबासीका असीमित अपेक्षाहरुसामु स्रोत साधनको सीमितता उस्तै थियो । चाहना त पाँच वर्षमा नै नगरलाई भौतिक पूर्वाधार र सेवामा अब्बल बनाउने थियो । स्रोत, साधनको उपलब्धताका बीच पर्याप्त हुन सकेन । तर, सकेसम्म इमान्दारितापूर्वक जनअपेक्षा अनुसारका विकास र सेवा प्रवाहमा अधिकतम र मुलुककै नमूनायोग्य कामहरु गरेका छौं । चुनावको दौरानमा भएको घरदैलोमा नगरबासीबाट प्राप्त भएका सकारात्मक प्रतिक्रिया र आर्शिवादप्रति मेरो नमन छ । मेरो मूल सम्पत्ति भनेको यही नै हो ।

काम गर्ने सिलसिलामा सकभर कमजोरी नगर्ने प्रयत्न रह्यो । तर, काम गर्दा, जोखिम उठाउँदा कमजोरी भएका हुन सक्छन् । हाम्रो नेतृत्वमा भएका राम्रा नराम्रा कामको जस अपजस नेतृत्वको हिसाबले नगर प्रमुखको रहनेछ । आगामी दिनहरुमा नागरिकहरुले स्वतन्त्रतापूर्वक मूल्यांकन गर्ने छुट पाउनुहुनेछ । अध्ययन, अनुसन्धान गर्नेहरुका लागि पनि प्रसस्त अध्ययन सामग्रीहरु नगरपालिकामा सुरक्षित नै छ/रहनेछन् । पाँच वर्षका गतिविधिबारे विगतमा नगर प्रमुखको रुपमा समय समयमा सार्वजनिक भएका छन् । नगर प्रमुखका रुपमा आफ्ना भोगाइहरु पछि पनि नगरबासीसमक्ष विभिन्न फोरममा राख्ने नै छु । सुरुमा भने जस्तै राजनीतिक, सामाजिक क्षेत्रमा यही नगरभित्र रहने हुँदा आम नगरबासी आदरणीय आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरुसँग भेट हुने नै छ ।

अन्त्यमा नगर प्रमुखको उम्मेदवार बनाउने म आबद्ध राजनीतिक दल नेकपा (एमाले), मलाई मतदान गर्ने नगरबासी मतदाता, आदरणीय आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरु, कर्मचारीवर्ग, नागरिक समाज, सञ्चारकर्मी, शुभेच्छुक तथा शुभचिन्तकहरुमा धन्यवाद व्यक्त गर्न चाहन्छु । दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएका जनप्रतिनिधिहरुलाई स्वागत तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु ।
धन्यवाद !

रामेश्वर श्रेष्ठ
निवर्तमान नगर प्रमुख
९ जेठ, २०७९
महालक्ष्मी– ५, ललितपुर