अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पालिकामा कांग्रेस र वडामा एमाले अगाडि

पालिकामा कांग्रेस र वडामा एमाले अगाडि


दाङ – दाङका पालिकामा कांग्रेसले वर्चस्व जमाएको छ, भने वडामा नेकपा ९एमाले० अगाडि छ । दश स्थानीय तहमध्ये कांग्रेसले पाँच, नेकपा (माओवादी केन्द्र)ले तीन र एमालेले दुई स्थानीय तहमा जित हात पारेको छ ।

दाङका दुई उपमहानगरपालिकामा एमालेले जितेको छ । घोराही उपमहानगरपालिकाको नगरप्रमुखमा नरुलाल चौधरी र उपप्रमुखमा हुमा डीसी विजयी हुनुभएको छ, भने तुलसीपुर उपमहानगरको नगरप्रमुखमा टीकाराम खड्का र उपप्रमुखमा स्यानी चौधरी विजयी हुनुभएको छ । त्यस्तै कांग्रेसले लमही नगरपालिकासहित राजपुर, दङ्गीशरण, शान्तिनगर र बबई गाउँपालिकामा विजयी हासिल गरेको छ । यी पालिकामा कांग्रेसले प्रमुख र उपप्रमुख दुवै जित हात पारेको हो ।

त्यस्तै माओवादी केन्द्रले बङ्गलाचुली, राप्ती र गढवा गाउँपालिकामा विजयी हासिल गरेको छ । यी तीनवटै पालिकाको उपप्रमुखमा भने अन्य पार्टीका छन् । राप्तीको उपप्रमुखमा एमाले, बङ्गलाचुली र गढवाको उपप्रमुखमा कांग्रेस विजय भएको दाङका मुख्य निर्वाचन अधिकृत रीतेन्द्रबहादुर थापाले बताउनुभयो । दाङमा १० स्थानीय तह छन् ।

वडामा एमाले धेरै

वडामा भने एमालेले धेरै सिट जितेको छ । एक सय वडा रहेको दाङमा एमाले ४० वडाध्यक्ष जित्न सफल भएको छ । त्यस्तै कांग्रेसले ३७ र माओवादी केन्द्रले १९ वडा जितेको छ । त्यस्तै एकीकृत समाजवादी र जनमोर्चाले एक÷एक तथा स्वतन्त्रले दाङमा दुई वडा जितेको छ ।

घोराहीमा १३ वडा एमालेले जितेको छ भने पाँच वडा कांग्रेस र एउटा वडा माओवादी केन्द्रले जितेको छ । तुलसीपुरमा १९ वडामध्ये १० वडा एमालेले, पाँच वडा कांग्रेस, तीनमा माओवादी केन्द्र र एउटा स्वतन्त्रले जितेको छ । लमही नगरपालिकामा आठ वडा कांग्रेस र एउटा वडा माओवादी केन्द्रले जितेको छ । राप्ती गाउँपालिकामा एमालेले चार, माओवादी केन्द्रले दुई, कांग्रेस, जनमोर्चा र एकीकृत समाजवादीले एक÷एक वडा जितेका छन् ।