काठमाडौं – काठमाडौं महानगरपालिकामा एमालेबाट उम्मेदवार बन्नुभएका केशव स्थापितले मेयरमा विजयी बालेन साहलाई शुभकामना दिनुभएको छ ।
उहाँले सकारात्मक काममा सहयोग गर्ने र कमजोरीमा निरन्तर खबरदारी गर्ने समेत बताउनुभयो ।
‘काठमाडौँ महानगरवासीले तपाईँमाथि भरोसा गर्दै मतपेटिकामा खसालेका हरेक पत्रपत्रको तपाईँले सम्मान गर्नुहुनेछ भन्ने मैले अपेक्षा लिएका छु,’ विज्ञप्ति निकालेर स्थापितले भन्नुभएको छ, ‘पाँच वर्षे कार्यकालमा तपाईँको विपक्षमा मतदान गर्ने मतदाताको पनि मन जित्ने काम गर्नुहुने छ भन्ने अपेक्षा पनि लिएको छु ।’
जनताको सेवक भएर काम गर्ने आकांक्षाले यो पटकको निर्वाचन परिणामसँगै सफलता प्राप्त गर्न नसकेको भन्दै स्थापितले आफू पटक–पटक लडेर पनि फेरि धुलो टक्टक्याएर उठेको व्यक्ति भएकोले हार–जितलाई सामान्यरुपमा लिएको बताउनुभयो ।
उहाँले भन्नुभएको छ, ‘काठमाडौँ म र मेरो पुस्तौ–पुस्ता जन्मिएको माटो हो । त्यसैले मलाई यहाँको माटो, यहाँको सम्पदा, यहाँको संस्कृति, यहाँको विकास, यहाँको समृद्धिप्रति अगाध स्नेह छ, अगाध प्रेम छ ।’
प्रतिक्रिया