कावासोती- नवलपुरको बुलिङटार गाउँपालिकाका अध्यक्ष दिपेन्द्र सुनारी सहितको टोलीले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीलाई भेटेका छन् । असार १ मा प्रदेश सरकारले बजेट ल्याउने भएकाले गाउँका समस्यालाई सम्बोधन गर्ने गरी बजेटमा ब्यवस्था गर्न मुख्यमन्त्रीलाई भेटेर योजनाहरु बुझाएको बुलिङटार गाउँपालिकाका अध्यक्ष सुनारीले बताउनुभयो ।
टोलीले बुलिङटारको नहर मार्फत बाह्रै महिना सिचाईं सुबिधाका लागि नहरको मर्मत तथा पुर्ननिर्माण, आधारभूत खानेपानीको ब्यवस्थापन, बिद्युत सुबिधा तथा वडाबाट पालिकाको केन्द्र आउने सडक निर्माण, गाउँपालिका भवन निर्माण, १० शैयाको अस्पताल भवन निर्माण लगाएतका योजना पेश गरेको टोलीमा सहभागी बुलिङमा विकास माग्न अध्यक्ष सुनारी मूख्यमन्त्रीकोमा गएको एमाले युवा नेता विद्रोही गिरीले बताउनुभयो । ‘बस्न योग्य गाउँ र हेर्न लाएक ठाउँ’ बनाउने संकल्प अनुरुप आधारभूत कुरामा ध्यान छ गिरीले भन्नुभयो – मुख्यमन्त्री नेपाली समस्या बारे जानकार भएकाले धेरै मागहरु समाधान हुनेमा विश्वस्त छौ’ । उहाँको निर्वाचन क्षेत्र पनि बुलिङ पर्ने भएकाले हाम्रा माग पुरा हुन्छन् गाउँपालिका अध्यक्ष दिपेन्द्र सुनारीले भन्नुभयो – उहाँसंगको भेटले उत्साह थपेको छ ।’
अध्यक्ष सुनारीले भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात मन्त्रालयका सचिव रामचन्द्र श्रेष्ठ, उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्य र सचिव रामकुमार श्रेष्ठ, मुख्यमन्त्री कार्यालयकी सचिव मनमाया भट्टराई पंगेनी संग पालिकाले साझेदार गर्न गर्ने बिषयमा समेत छलफल गर्नुभएको थियो ।
स्थानीय तहको निर्वाचन सकिए लगतै नयाँ बजेट ल्याउने चटारो परेको जनप्रतिनिधिहरुलाई नयाँ योजना र समस्या समाधानको पहिचानका लागि स्रोत जुटाउने पिरलो पनि उत्तिकै रहेको छ । असार १० गते नीति , कार्यक्रम, बजेट ल्याउने पर्ने संबैधानिक ब्यवस्था अनुसार स्थानीयतहका जनप्रतिनिधिहरु संघीय सरकार र प्रदेश सरकार कहाँ धाउन थालेका छन् । कतिपय स्थानीय स्रोत परिचालन गरेर पनि योजना निर्माण हुन्छ भने धेरै कामका लागि प्रदेश र संघको समानीकरण, बिषेश अनुदान लगाएको बजेट आबश्यक पर्छ ।
प्रतिक्रिया