अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कास्की जिल्ला समन्वय समिति निर्वाचन जेठ २० मा, बहुमतमा एमाले

कास्की जिल्ला समन्वय समिति निर्वाचन जेठ २० मा, बहुमतमा एमाले


पोखरा – जिल्ला समन्वय समिति कास्कीको नेतृत्व चयनका लागि जेठ २० मा निर्वाचन हुँदैछ ।

कास्कीका पाँच पालिकाका १० जना मतदातामध्ये ६ जना नेकपा एमालेका छन् । एमालेको स्पष्ट बहुमत रहेकाले जिसस कास्कीका सबै पदमा एमालेका उम्मेद्वार विजयी हुने सम्भावना देखिएको छ ।

समितिमा एक प्रमुख, एक जना उपप्रमुख, तीन जना महिला र एक जना दलित वा अल्पसंख्यक गरि नौ जना सदस्य रहने छन् । नेपालको संविधानको धारा २२० अनुसार जिसस निर्वाचनमा पालिकाका प्रमुख र उपप्रमुख मतदाता हुनेछन् । कास्कीको हकमा पाँच पालिकाका पाँच प्रमुख र पाँच उपप्रमुख गरी १० जना मतदाताले मतदान गर्नेछन् ।

यसैबिच निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले बुधबार निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।

निर्वाचन कार्यतालिका अनुसार मतदाता नामावली प्रकाशन, मतदाता नामावली सच्याउने, छुट नामावली समावेश गर्न निवेदन दिने, संशोधित नामावली प्रकाशन, मातदाताको विरोधमा उजुरी र मतदाताको विरोधमा उजुरी परेमा छानविन गर्दै अन्तिम नामावली प्रकाशन जेठ १९ अर्थात शुक्रबार हुनेछ ।

यसैगरी उम्मेद्वार मनोनयन पत्र दर्ता, दर्ता भएका उम्मेद्वारका सूची प्रकाशन, उम्मेद्वारका दावी विरोध, दावी विरोध परेमा छानविन र अन्तिम नामावली प्रकाशन, उम्मेद्वारी फिर्ता, उम्मेद्वारका अन्तिम नामावली प्रकाशन, निर्वाचन चिन्ह प्रदान र मतदानसहित मतगणना जेठ २० गते अर्थात शनिबार हुनेछ ।