विराटनगर – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह चुनावको मत परिणामले एमालेसँग जुध्ने सामर्थ्य कुनै पार्टीमा नरहेको पनि दाबी गर्नु भएको छ ।
नेकपा एमाले मोरङले आज विराटनगरमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘एमाले एक्लै चुनावमा जाँदा पनि सानदार जित हासिल गरेको छ । एमालेले कसैको जुठो खाँदैन।’
अध्यक्ष ओलीले पाँच दलीय गठबन्धनले चुनावमा जित निकाले पनि एउटै प्रकारको जुठो गाँस भएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, ‘गठबन्धन नहुँदा धूलोपीठो हुने भएकाले अहिले नै गठबन्धन नटुट्ने देखिएको छ । गठबन्धन टुटाउन बल गर्नु परो भनेर हल्ला चले पनि एक्लै चुनावमा जाँदा धूलोपीठो हुने डरले उनीहरु गठबन्धन टुटाउन चाहँदैनन् । साढेसँग लड्न सक्दिनँ भनेर उनीहरुले गठबन्धन गरेका हुन् । गठबन्धनमै रहेका केही दलहरुको हैसियत बाख्रासँग लड्न सक्ने खालको पनि छ ।’
अध्यक्ष ओलीले अर्थमन्त्री जनार्दन शर्मा ल्याएका बजेटमा वार्षिक वृद्धिदर ८ प्रतिशत पुर्याउँछु भन्ने अर्थमन्त्रीको बजेट भाषण हावादारी गफ मात्र भएको टिप्पणी गर्नुभयो ।
‘शेरबहादुर देउवाजी ज्ञानेन्द्रका पाउमा परिसक्नु भएको थियो । हामीले जनआन्दोलनको भरमा त्यसलाई बचायौं र संसदीय व्यवस्था कायम राख्यौं त्यति बेला प्रतिगमन हुनबाट बचाएका थियौं’ अध्यक्ष ओलीले भन्नुभयो ।





प्रतिक्रिया