काठमाडौँ – नेकपा एमालेको तर्फबाट लोकप्रिय मत प्राप्त गरी सूर्यविनायक नगरपालिको उपप्रमुखमा निर्वाचित हुनुभएकी सरिता तिम्मल्सिना भट्टराईले राष्ट्रिय सहकारी बैंकको संचालक पदबाट राजिनामा दिनुभएको छ ।
वैशाख ११ गते पार्टीले उपमेयरको टिकट दिनासाथ नेकपा एमाले केन्द्रीय सहकारी विभागको सदस्य समेत रहनुभएको उहाँले बैंकको सञ्चालकबाट राजिनामा दिनुभएको थियो । उक्त राजिनामा आज बसेको वोर्डको बैठकले स्वीकृत गरेको हो ।
परिवर्तन सम्भव छ हाम्रै पालामा भन्ने मान्यतालाई आत्मसात् गर्दै उपप्रमुख भट्टराईले सुशासनलाई पहिलो प्राथमिकतामा राखेको दावी गर्नुभएको छ । नगरवासीको दुःख-सुखको सारथीको साथमा साथै नगरको विकास र समृद्धिको यात्रालाई नेतृत्वत गर्नुपर्ने महत्वपूर्ण जिम्मेवारी भएकाले आफूले टिकट पाउन साथ बैंकको सञ्चालकबाट राजिनामा दिएको उपप्रमुख भट्टराईले जानकारी दिनुभयो ।
आफ्नो सम्पूर्ण समय अबको दिनमा नगरवासी जनताको हकहित तथा अधिकारको साथ साथै जनचाहना, आवश्यकता र मागको लागि नेतृत्व गर्ने उहाँले प्रतिवद्धता जनाउनुभयो । अबको पाँच वर्षको सम्पूर्ण समय नगरवासी जनताको हितको लागि समर्पण हुने समेत उहाँले बताउनुभयो ।
सहकारी ऐन तथा नियमावलीको व्यवस्था र संघिय सहकारी विभागले जारी गरेको निर्देशन अनुसार सार्वजनिक पदमा भएको व्यक्ति सहकारी संघसंस्थाको संचालक बस्न नपाउने व्यवस्था रहेकाले उपप्रमुख भट्टराईले राजिनामा दिनुभएको हो ।
उपप्रमुख भट्टराईले राजिनामा गर्नुभएसँगै विभिन्न स्थानिय तहहरुमा निर्वाचित जनप्रतिनिधिहरुलाई समेत राजिनामाको दवाव परेको छ ।





प्रतिक्रिया