उदयपुर – उदयपुरको त्रियुगा नगरपालिका नगर कार्यपालिका सदस्यको निर्वाचनमा नेपाली काँग्रेसको बहुमत हुँदाहुँदै पराजय भोग्नु परेको छ ।
शनिबार भएको ८ नगर कार्यपालिका सदस्यको निर्वाचनमा काँग्रेसले एक सदस्य गोलाप्रथाबाट विजयी भएका छन् भने नेकपा एमालेबाट ४ जना र नेकपा माओवादी केन्द्रबाट ३ जना विजयी भएका छन् ।
नगर कार्यपालिका सदस्य दलित वा अल्पसंख्यक तीन पदको लागि नेकाबाट बलदेव विश्वकर्मा र नेकपा माओवादी केन्द्रबाट प्रहलादकुमार विश्वकर्माको ४१-४१ मत पाएका थिए ।
गोलप्रथाबाट नेकाका उम्मेदबार बलदेव विश्वकर्मा विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत दिलिप मगरले जानकारी दिनु भयो । यस्तै दलित वा अल्पसंख्यकमा नेकपा माओवादी केन्द्रबाट विमल राई ४२ र डिल्ली सेर राई ४२ मत प्राप्त गरी विजयी भएका छन् ।
कार्यपालिकामा नेपाली कांग्रेसबाट नगर प्रमुख, ९ वडा अध्यक्षसहित ४२ जना, एमालेबाट नगर उपप्रमुख, चार वडा अध्यक्षसहित २४ जना, माओवादी केन्द्रबाट तीन वडा अध्यक्षसहित १५ र एकिकृत समाजवादीबाट एक जना सदस्यले मतदानमा भाग लिएका थिए । नगर कार्यपालिका निर्वाचनमा एमाले, माओवादी र नेकपा एकीकृत समाजवादीले गठबन्धन गरेको थियो ।
यस्तै नगर कार्यपालिका महिला सदस्य पाँच पदका लागि नेकपा एमालेबाट गीता कुमारी उप्रेती ४१, रेणुका श्रेष्ठ ४१ र सुनिता गजमेर ४१ विजयी भने नेकपा माओवादीबाट रेखा थापा मगर ४१ र कुन्ति परियार ४१ विजयी भएको छन् ।
त्रियुगा नगरपालिकामा काँग्रेसमा मेयरसहित ४२ जना बहुमत सदस्य रहेपनि अन्तर्घातले पराजय भोग्नु परेको छ ।





प्रतिक्रिया