चितवन-गृहमन्त्री बालकृष्ण खाणले नारायणगढ–मुग्लिन–काठमाडौँ सडक खण्ड अवरोध हुन नदिन सबै सरकारी निकायलाई समन्वय गरेर काम गर्न निर्देशन दिनुभएको छ ।
चितवनको कुरिनटारस्थित सशस्त्र प्रहरी बल विपत व्यवस्थापन तालिम शिक्षालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री खाणले काठमाडौं जोड्ने लाइफलाइनको रूपमा रहेको सडकखण्ड लामो समय अवरोध नहुने वातावरण सिर्जना गर्न निर्देशन दिनुभएको हो ।
खाणले पोखरादेखि मुग्लिन र नारायणगढदेखि मुग्लिन हुँदै काठमाडौं जाने सडकको सहज व्यवस्थापनका लागि सबै जिल्लाका सिडियोहरूले समन्वय गरेर काम गर्नुपर्ने बताउँदै भन्नुभयो– “यो सडकखण्डमा वर्षेनी पहिरो जाने र नागरिकको जीउधनको क्षति हुने गरेको छ । यसले सडक सञ्जालमा गम्भीर अवरोध पु(याउने गरेको छ, तपाईंहरू जिल्ला प्रमुख, सुरक्षा निकाय र सडक विभाग मिलेर व्यवस्थापनको काम गर्नुहोस् ।” उहाँले आवश्यक उपकरण, जनशक्ति र बजेटको व्यवस्था गर्न जिल्ला प्रमुखलाई निर्देशनसमेत दिनुभयो ।
मन्त्री खाणले सडक निर्माण गर्दा दीर्घकालीन रुपमा सोचेर काम नगर्दा समस्या आउने गरेको बताउँदै हरेक आयोजनालाई अगाडि बढाउँदा त्यसले प्राकृतिक विपत्तिलाई कतिको सामना गर्न सक्छ भन्ने कुरामा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले विपतको समयमा यात्र गरिएन भने मात्रै पनि ठूलो धनजनको क्षतिबाट जोगिन सकिने बताउनुभएको छ ।





प्रतिक्रिया