अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

असार १ गतेबाट मतदाता नामावली दर्ता प्रक्रिया सुरू हुने

असार १ गतेबाट मतदाता नामावली दर्ता प्रक्रिया सुरू हुने


काठमाडौं – निर्वाचन आयोगले असार १ गतेदेखि मतदाता नामावली दर्ता प्रक्रिया सुरु गर्ने भएको छ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले असार १ गतेदेखि मतदाता नामावली दर्ता प्रक्रिया सुरु हुने जानकारी गराउनु भएको छ ।

आज राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उहाँले सो कुराको जानकारी गराउनु भएको हो ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले सबै जिल्ला प्रशासन कार्यालय, निर्वाचन कार्यालय र इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली दर्ता गर्न सकिने बताउनु भयो । त्यस्तै अस्थायी बसोबास गरिरहेको स्थानबाट पनि नामावली दर्ता गर्न सकिने उहाँले स्पष्ट पार्नुभयो ।

‘२०७९ असार १ गतेदेखि फेरि मतदाता नामावली दर्ता प्रक्रिया शुरु हुन्छ। सबै जिल्ला प्रशासन कार्यालय, सबै निर्वाचन कार्यालय र सबै इलाका प्रशासन कार्यालयमा दर्ता गर्न सकिन्छ’, प्रमुख निर्वाचन आयुक्त थपलियाले भन्नुभयो, ‘कुनै पनि व्यक्ति काठमाडौंमा बसोबास गर्नुहुन्छ, उहाँ ताप्लेजुङको हो। कुनै व्यक्ति पोखरामा बसोबास गर्नुहुन्छ, मनाङको हो भने पनि आफ्नो स्थायी ठेगानामा, त्यही आफू बसेकै ठाउँमा गएर मतदाता नामावलीमा नाम दर्ता गर्न पाउने व्यवस्था पनि गरिएको छ।’

प्रमुख निर्वाचन आयुक्त थपलियाले एउटा मात्र पदमा उम्मेदवारी दिने दलको उम्मेदवार महिला हुनुपर्ने गरी आयोगले कानून बनाउने बताउनु भयो । उहाँले भन्नुभयो, ‘अहिले आयोगको तयारी कुनै दलले एउटा मात्र पदमा उम्मेदवारी दिन्छ भने त्यो महिला नै हुनुपर्नेछ यो नीतिमा पनि लेखेको छ। अहिले हामीले ड्राफ्टमा पनि लेखेका छौं । त्यसकारण स्थानीय तहको मुलभूत रुपमा, नेतृत्व तहमा, कार्यकारिणी तहमा महिलाहरुको प्रतिशत बढाउन यो पर्याप्त हुन्छ। आयोगले अब बनाउने कानूनमा यसलाई तदनुसार अगाडि बढाउँछ।’