दैलेख – जिल्ला समन्वय समिति दैलेखको प्रमुख पदमा पुनः निर्वाचनको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ ।
नेपाली कांग्रेसबाट जिसस प्रमुखको उम्मेदवार बनेकी दुर्गाकुमारी श्रेष्ठले मंगलवार रिट दायर गरेका गर्नुभएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालय दैलेख लगाएतका विरुद्ध परेको रिटमा जिल्ला समन्वय समिति दैलेखको प्रमुख पदमा पुनः कानून बमोजिम निर्वाचन गराउन उत्प्रेषणयुक्त परमादेश माग गरिएको छ ।
रिटमा मुख्य निर्वाचन अधिकृतको कार्यालय दैलेख, मुख्य निर्वाचन अधिकृत दण्डपाणि लामिछाने, जिल्ला समन्वय समिति दैलेख, जिल्ला समन्वय समितिमा स्वतन्त्र उम्मेदवारी दिई निर्वाचित भएका नमराज शाही, स्वतन्त्र उम्मेदवारका प्रस्तावक सुन्दरकुमार केसी, समर्थक बिना कार्की, प्रदेश निर्वाचन कार्यालय कर्णाली प्रदेश र निर्वाचन आयोग समेतलाई विपक्षी बनाएको छ ।
दैलेखको आठबीस नगरपालिका–७ को वडासदस्यमा नेपाली काँग्रेसबाट निर्वाचित भएका नमराज शाहीले जिसस प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिन नपाउने रिटमा जिकिर गरिएको छ । ‘नेपाली काँग्रेसबाट निर्वाचित भएका शाहीले स्वतन्त्र हैसियतमा जिल्ला समन्वय समितिको निर्वाचनमा उम्मेदवारी दिन नमिल्ने भन्दै उम्मेदवारी दर्ता खारेज गरी पाउँ भनि दिएको निवेदन समेत मुख्य निर्वाचन अधिकृतको कार्यालयले अस्वीकार गरेको रिटमा उल्लेख छ ।
गत जेठ २६ गते भएको जिल्ला समन्वय समिति दैलेखको निर्वाचनबाट प्रमुखमा स्वतन्त्र उम्मेदवार नमराज शाही विजयी हुनुभएको छ । जिसस प्रमुखमा निर्वाचित शाहीले १३ मत प्राप्त गर्नुभएको थियो । सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीको तर्फबाट प्रमुखको उम्मेदवार नेपाली काँग्रेसकी दुर्गा कुमारी श्रेष्ठले ९ मत प्राप्त गर्नुभएको थियो ।
जिल्ला समन्वय समितिमा निर्वाचित प्रमुख, उपप्रमुख र सदस्यहरुले पद तथा गोपनीयताको सपथग्रहणपछि मंगलवार पदभारग्रहण समेत गरिसकेको छन् ।
प्रतिक्रिया