अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्री र अर्थमन्त्रीले जवाफ कार्यसूची, एमालेले ‘प्रतिवाद’ गर्ने

प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्री र अर्थमन्त्रीले जवाफ कार्यसूची, एमालेले ‘प्रतिवाद’ गर्ने


काठमाडौं – आज दिउँसो बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्माले जवाफ दिने सम्भावित कार्यसूची सार्वजनिक भएको छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।

संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले आज जनार्दन शर्माले अर्थ मन्त्रालयको आगामी आर्थिक वर्षका लागि विनियोजित बजेटमाथि जवाफ दिने कार्यसूची राख्नुभएको छ ।

त्यस्तै, प्रधानमन्त्री देउवाले रक्षा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालय तथा राष्ट्रिय योजना आयोगको कार्यलयका लागि विनियोजित बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची छ ।

अर्थमन्त्रीले बजेट तयार पार्ने क्रममा अर्थमन्त्रालयमा अनधिकृत व्यक्तिहरू प्रवेश गराएर कर, राजश्व र भन्सारका दर निर्धारण गरेको आरोप लागेको छ । उक्त घटना सार्वजनिक भएपछि प्रमुख प्रतिपक्षी एमालेले अर्थमन्त्रीले जवाफ दिने कार्यक्रममा पार्टीका सांसद सहभागी हुन नसक्ने र संसद् अवरोध गर्ने जनाएको छ ।

अर्थमन्त्रीले जवाफ दिने कार्यक्रम मंगलबार नै राखिएको थियो । उक्त दिन अर्थमन्त्रीले जवाफ दिनुपहिला अर्थमन्त्रालयमा भएका घटनाबारे संसद्मा स्पष्टिकरण दिनुभएको थियो । अर्थमन्त्रीको जवाफमा चित्त नबुझेको भन्दै एमालेका सांसदहरूले संसद् अवरोध गरेका थिए ।

बुधबार भने अर्थमन्त्रीले जवाफ दिने कार्यक्रम कार्यसूचीमा नै राखिएको थिएन । यसअघि बुधबार नै बजेटमाथिको छलफल सक्ने कार्यसूची संसद् सचिवालयले तयार पारेको थियो । अर्थमन्त्रीको विवादले बजेटमाथिको बहस लम्बिएको छ ।

आज एमालेले भने अर्थमन्त्रीले कि राजीनामा दिनुपर्ने नभए संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गरेको छ । त्यसो नभएसम्म प्रमुख प्रतिपक्षीले संसद् अवरोध गर्ने भएको छ । एमालेका प्रमुख सचेतक विशाल भट्टराईले अर्थमन्त्रीले जवाफ दिने कार्यक्रम रहेमा प्रतिवाद गर्ने बताउनुभयो ।