काठमाडौं – संवैधानिक नियुक्तिविरुद्ध परेको रिटमाथि आज सुनुवाइ हुँदैछ । संवैधानिक इजलासमा सुनुवाई हुन लागेको हो । अधिवक्ता ओमप्रकाश अर्याल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतले रिट दायर गर्नुभएको थियो ।
बुधबार कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, वरिष्ठतम् न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा र अनिलकुमार सिन्हाको संवैधानिक इजलास गठन गरिएको छ ।
अध्यादेशका आधारमा संवैधानिक परिषद्को बैठक सञ्चालनसम्बन्धी कार्याविधि परिवर्तन गरी विभिन्न संवैधानिक नियुक्ति दिइएको भन्दै २०७७ मंसिर १ गते अधिवक्ता ओमप्रकाश अर्याल र मंसिर २ गते वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो अध्यादेशबाट ल्याइएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र त्यसकै आधारमा भएको नियुक्ति बदर गर्न माग गर्दै उहाँहरुले सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।
यसअघि उक्त मुद्दामा संवैधानिक नियुक्ति लिई विपक्षी बनाइएका सबैलाई म्याद तामेल गर्ने गरी कारण देखाउ आदेश जारी भएको थियो । यद्यपि वादीले अन्तरिम आदेशको माग गरेपनि अन्तरिम आदेश जारी नहुने आदेश दिइएको थियो । म्याद तामेलीका समय सकिएपछि बुधबारको संवैधानिक इजलासमा उक्त रिटमाथि सुनुवाइको मिति तोकिएको हो ।
बुधबारको संवैधानिक इजलासमा उक्त पेसी चढेको भएपनि बुधबार नै अपरान्ह न्यायपरिषदको आकस्मिक बैठक बोलाइएकाले खाजा समयपछि संवैधानिक इजलास पुनः बस्ने वा नबस्ने टुङ्गो छैन ।
प्रतिक्रिया