काठमाडौं – नेकपा एमालेका सचिव योगेश भट्टराईले माधव नेपाल र झलनाथ खनालले नेकपा एस भित्रका खेलाडीलाई बिस्तारै चिन्दै जाने बताउनुभएको छ ।
पछिल्लो समय नेतृत्वले लिएका विभिन्न निर्णयहरू सही नभएको भन्दै नेकपा एकीकृत समाजवादीका १० सांसदहरुले विद्रोह गरेपछि नेता योगेश भट्टराईले सामाजिक सञ्जाल यस्तो बताउनुभएको हो ।
उहाँले लेख्नुभएको छ, – ‘एकीकृत समाजवादी पार्टीको अहिलेको अवस्था देख्दा उ बेला मैले पार्टी विभाजन नगर्न कमरेड माधवकुमार नेपाललाई गरेको अनुनय, बिनय र एमाले विभाजनको औचित्य छैन भनी दिएको तर्क अनि नेपालको कम्युनिस्ट आन्दोलनलाई तहसनहस पार्ने षडयन्त्रको शिकार नबन्न गरेको अनुरोध र केहि भन्दा पनि वहाँले नमाने पछि कुनै दिन परिस्थिती तपाईंको काबुभन्दा बाहिर जाने छ भनेर वहाँबाट छुट्टिएको पलको स्मरण भईरहेको छ । हेर्दै जाउँ हामीले त्यतिबेला नै चिनेका खेलाडीहरु कमरेड माधव नेपाल र कमरेड झलनाथ खनालले बिस्तारै चिन्दै जानुहुनेछ । आत्मबोध र पश्चताप ः सिर्फ कहिले ?’
नेकपा एकीकृत समाजवादीले अहिले सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्रीहरुको सूची प्रधानमन्त्री शेरबहादुर देउवालाई दिइसकेको छ । पार्टीको यो निर्णयमा असन्तुष्टि जनाउँदै विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेम आले, कृष्ण कुमार श्रेष्ठ, कृष्णलाल महर्जन, गोपाल बहादुर बम, विनादेवी बुढाथोकी, पुष्पा कुमारी कर्ण कयस्थ, धनबहादुर बुढा, निरा जैरुले छुट्टै बैठकमा यो निर्णय गर्नुभएको छ ।
उहाँहरुले पार्टी अध्यक्ष माधवकुमार नेपालले बारम्बार प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रीहरुको सपथ गराउन दबाब दिएको र आफूहरुलाई यो स्वीकार्य नभएको बताउनुभयो ।
प्रतिक्रिया