अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बाँके र बर्दियामा मानव–वन्यजन्तुबीच द्वन्द्व बढ्दै

बाँके र बर्दियामा मानव–वन्यजन्तुबीच द्वन्द्व बढ्दै


बाँके – गत जेठ २३ गते बर्दियाको मधुवन नगरपालिका–२ छोट्की सोनाहा गाउँकी ४१ वर्षीया अस्मिता थारुलाई चितुवाले आक्रमण गरी घाइते बनाएपछि आक्रोशित स्थानीयले ओराली बजारमा सडक बन्द गर्दै सुरक्षाको माग गरे ।

सो आसपासका क्षेत्रमा वन्यजन्तुको आक्रमण बढेको भन्दै आन्दोलनमा उत्रिएका माथि प्रहरीले गोली चलाउँदा मधुवन नगरपालिका–२ बस्ने १८ वर्षीया नवीना थारुको मुत्यु भयो भने मधुवन नगरपालिकाकै २२ वर्षीय राकेशकुमार चौधरी घाइते भएका छन् ।

त्यसको केही दिनअघि सोही क्षेत्रमा पाटेबाघको आक्रमणमा परी मधुवन नगरपालिका–२ की कौसिला पालको मृत्यु भएको थियो । वन्यजन्तुको आक्रमण नरोकिएपछि स्थानीय समुदाय सडक आन्दोलनमा उत्रिने क्रममा गोली चल्दा अनाहकमा सर्वसाधारणको ज्यान गएको खाता सामुदायिक वन समन्वय समितिका अध्यक्ष हरि गुरुङले बताउनुभयो ।

पछिल्ला वर्षमा पश्चिम तराईको बाँके र बर्दिया जिल्लामा मानव–वन्यजन्तुबीच द्वन्द्व बढेको छ । गत पाँच वर्षमा बाघको आक्रमणबाट बर्दियामा २३ र बाँकेमा छ गरी २९ जनाको मृत्यु भएको छ ।

दुवै निकुञ्जमा बाघको सङ्ख्या वृद्धि भएसँगै बाघ आक्रमणका घटना पनि बढ्दै जाँदा मृत्यु हुने क्रम पनि बढेको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार, पछिल्लो समय बाघको सङ्ख्या बढ्दै जानु, वन अतिक्रमण बढ्नु र भौतिक पूर्वाधारको विकासले बाघको वासस्थान खण्डित हुँदै गएकाले मानव र वन्यजन्तुबीच द्वन्द्व बढ्दै गएको छ ।