मुलुक सङ्कटका सामु उभिएको बेला, आन्दोलनले नयाँ चुनौतीको सामना गरिरहेको बेला र जनतामा नैराश्यको बादल छाइरहेको बेला समयले परसम्म देख्न सक्ने, भीडबाट लतारिने होइन भीडलाई डोहो¥याउन सक्ने र सङ्कीर्णताको साँघुरो घेरा नाघेर राष्ट्रको बोलि बोल्न सक्ने नेताको व्यग्रतासाथ खोजी गर्छ । मदन भण्डारी यस्तै सिर्जनात्मक र दूरदर्शी नेता हुनुहुन्थ्यो । यही कारण हो, जसले गर्दा अन्तिम विदाइ भएको २९ वर्ष बितिसके पनि धेरै मान्छेहरूले मदन भण्डारीलाई सम्झिरहेका छन् ।
मदन भण्डारीले साह«ै छोटो जीवन मात्रै बाँच्न पाउनु भयो । ४१ बर्ष पनि पूरा नहुँदै रहस्यमय दासढुङ्गा त्रासदीमा मारिनु अघि राष्ट्रिय नेताको रूपमा उहाँले जम्मा ३ बर्ष मात्रै सार्वजनिक जीवन बिताउनु भयो । उहाँले पौने चार बर्ष महासचिवको हैसियतले पार्टीको नेतृत्व गर्नुभयोे भने सांसदको रूपमा २ बर्ष मात्रै सार्वजनिक दायित्वमा रहनु भयो । तर यो अल्पजीवन र छोटो कार्यकालमै उहाँले नेपाली इतिहासलाई नयाँ मोड दिनुभयो । नेपाली कम्युनिष्ट आन्दोलन, प्रजातान्त्रिक आन्दोलन र समग्र समाजमा आज पनि उहाँका प्रभाव र पदचापहरूलाई अनुभूत गर्न सकिन्छ ।
पदीय हिसाबले कनिष्ट हुँदाहुँदै पनि मदन भण्डारीले पार्टीलाई वैचारिक अगुवाइ गर्न थाल्नुभयो । यही क्षमताले उहाँलाई २०४६ सालको चौथो महाधिवेशनबाट महासचिवको रूपमा स्थापित गर्यो ।
उहाँको मेधा र प्रतिभा प्रस्फुटन हुँदै गरेको समयखण्ड विशिष्ट थियो । कम्युनिष्ट आन्दोलनमा हावी दक्षिणपन्थी अवसरवाद र बिखण्डन विरुद्ध प्रतिवादको रूपमा घटित झापा आन्दोलनले नेपाली राजनीतिलाई भित्रैदेखि तरङ्गित त ग¥यो, तर उग्रवामपन्थी बाटोबाट कम्युनिष्ट आन्दोलन गन्तव्यमा पुग्न सक्दैनथ्यो । समयले कम्युनिष्ट आन्दोलनलाई दक्षिण र उग्र वामपन्थी भड्काउबाट मुक्त गर्दै सही दिशावोध गर्न, विभिन्न मुलुकका क्रान्तिको अन्धनक्कलबाट स्वतन्त्र गर्दै नेपाली क्रान्तिको मौलिक बाटोको विकास गर्न, राष्ट्रवादका नाममा राजासँग मलुवा हुने र प्रजातन्त्रका नाममा नेपाली काङ्ग्रेसको छाया बन्ने प्रवृत्तिबाट मुक्त गर्दै स्वतन्त्र र नेतृत्वदायी राजनीतिक शक्तिको रूपमा कम्युनिष्ट आन्दोलनलाई विकास गर्न सार्थक हस्तक्षेप र सुस्पष्ट नीति निर्माणको माग गरिरहेको थियो ।
चीनमा माओका नाममा गरिएको सांस्कृतिक क्रान्तिको प्रयोग असफल सिद्ध भएको र सोभियत मोडल समाजवाद सङ्कटग्रस्त बन्दै गरेको अवस्थाले समग्र कम्युनिष्ट आन्दोलनकै पुनर्मूल्याङ्कन र परिष्करणको आवश्यकता वोध गराइरहेको थियो । प्रजातान्त्रिक शक्तिहरूको प्रभावशाली उपस्थिति हुँदाहुँदै पनि राजतन्त्र र पञ्चायती तानाशाही टिकिरहन सकेको बिडम्बनापूर्ण अवस्थाले प्रजातन्त्रका निम्ति नयाँ सहकार्य र नयाँ आन्दोलनको खोजी गरिरहेको थियो । यस्तै पृष्ठभूमिमा, यिनै अनुत्तरित प्रश्नहरूको जवाफ खोज्दै मदन भण्डारी राजनीतिमा स्थापित हुनुभयो ।
पुष्पलालसँग असहमत भएर मुक्तिमोर्चा हुँदै को–अर्डिनेशन केन्द्रसँग एकतावद्ध भएका मदन भण्डारी नेकपा (माले) का संस्थापक केन्द्रीय सदस्य हुनुहुन्थ्यो । २०३६ सालपछि नेकपा (माले) भित्र उग्रवामपन्थबाट मुक्ति, नेपाली क्रान्तिको मौलिक बाटो र सिद्धान्तको अन्वेषण, शान्तिपूर्ण जनआन्दोलनतिर सङ्क्रमण, प्रजातान्त्रिक शक्तिसँग सहकार्य, जनताको प्रत्यक्ष जीवनसँग एकाकार गर्दै कम्युनिष्ट आन्दोलनलाई लोकप्रिय राजनीतिक आन्दोलनमा विस्तार गर्ने बिषयमा केन्द्रित भएर गंभीर वैचारिक–सैद्धान्तिक–राजनीतिक वहस प्रारम्भ भए । यही बहसकै क्रममा मदन भण्डारीको सिद्धान्तनिष्टता, सिर्जनात्मकता र दूरदृष्टि उद्घाटित हुँदै गयो । पदीय हिसाबले कनिष्ट हुँदाहुँदै पनि मदन भण्डारीले पार्टीलाई वैचारिक अगुवाइ गर्न थाल्नुभयो । यही क्षमताले उहाँलाई २०४६ सालको चौथो महाधिवेशनबाट महासचिवको रूपमा स्थापित ग¥यो ।
जवजको एण्टिथेसिसको रूपमा अगाडि सारिएको ‘प्रचण्डपथ’ आज खुद माओवादीबाटै बेवारिसे भएको छ ।
मदन भण्डारीले एकातिर कम्युनिष्ट पार्टीले स्थापना कालदेखि नै उठाउँदै आएको प्रजातन्त्रको मुद्दालाई कम्युनिष्ट पार्टीको कार्यक्रममा एकाकार पार्नुभयो र कम्युनिष्ट पार्टीलाई नेपालको प्रजातान्त्रिक आन्दोलनको नेताको रूपमा स्थापित गर्न दिशावोध गर्नुभयो भने अर्कातिर उहाँले सोभियत सङ्घको विघटन र पूर्वी युरोपमा समाजवादी सत्ताहरूको पतनले खडा गरेका यक्ष प्रश्नहरूको जवाफ पनि वैज्ञानिक ढङ्गले खोज्नुभयो । परिवर्तित सन्दर्भमा कम्युनिष्ट आन्दोलन एकदलीय र अधिनायकतावादी ढङ्गले चल्न सक्दैन, यसले बहुसङ्ख्यक जनताको भावनालाई जित्नै पर्छ र प्रतिष्पर्धामा श्रेष्ठता हासिल गर्नैपर्छ भन्ने मदन भण्डारीको निष्कर्ष कतिपयले सरलीकृत गरे जस्तो सामाजिक–जनवादतिर जाने मेलोे थिएन ।
जनताको वहुदलीय जनवाद अब साम्यवादको भविष्य छैन भन्ने विसर्जनवाद र माक्र्सवादका शास्त्रीय उक्तिहरूलाई दह्रो गरी समाएर मात्रै क्रान्ति पूरा हुन्छ भन्ने जडसूत्रवादको समुचित जवाफ थियो । जनताको वहुदलीय जनवादले माक्र्सले सपना देखेको तर बीचमा ओझेलमा परेको समाजवादको मानवीय, लोकतान्त्रिक र जनपक्षीय धारको प्रतिनिधित्व गथ्र्यो, यो ती मान्यताहरूको यसको ‘रेनासाँ’ थियो । उग्रवामपन्थी चिन्तनले गर्दा हिंसा र अधिनायकवादको प्रतीक जस्तो बनाइएको कम्युनिष्ट आन्दोलनलाई लोकतान्त्रिकरण गर्दै मदन भण्डारीले जनताबीच लोकप्रिय बनाउनु भयो ।
यद्यपि, जनताको वहुदलीय जनवादलाई लोकतान्त्रिकरणको सिद्धान्त मात्रै भनेर पुग्दैन । लोकतान्त्रिकरणको उद्देश्य समाजको क्रान्तिकारी रूपान्तरण गर्नु हो । अर्थात् लोकतान्त्रिक ढङ्गले क्रान्ति सम्पन्न गर्नु यसको सिद्धान्तको सार हो । लोकतान्त्रिकरणको नाममा क्रान्तिकारी लक्ष्यलाई विस्मृतितिर धकेल्नु या क्रान्तिकारीकरणको नाममा लोकतान्त्रिक विधिलाई उपेक्षा गर्नु गलत हुन्छ ।
जनताको वहुदलीय जनवादको मार्गदर्शनमा नेपालको कम्युनिष्ट आन्दोलनले ठूला सफलताहरू हासिल गरेको छ । २०४६ सालको आन्दोलनलाई सफलतामा पु¥याउने र यसलाई जनताको हितमा अधिकतम स्तरोन्नत गर्ने काममा कम्युनिष्ट पार्टीले उल्लेख्य भूमिका खेल्यो । कम्युनिष्ट पार्टी जनताको घर–घरमा स्थापित भयो । क्रान्तिपूर्व पनि जनताको अभिमतबाट सरकार बनाएर प्रगतिशील सुधारका कामलाई अगाडि बढाउन सकिने यसको नवीन मान्यताको मार्गदर्शनमा नेकपा (एमाले) ले २०५१ को मध्यावधि निर्वाचनपछि अल्पमतको सरकार सञ्चालन ग¥यो, जुन सरकार निकै लोकप्रिय, जनमुखी र स्वच्छ सरकार थियो । कम्युनिष्ट आन्दोलन देशको मुख्य शक्तिको रूपमा स्थापित हुन थाल्यो ।
निश्चय नै, हिंसालाई क्रान्तिको पर्यायवाची ठान्ने स्कुलिङबाट हुर्किएको कम्युनिष्ट पार्टीलाई शान्तिपूर्ण प्रतिष्पर्धाको धारमा रूपान्तरण गर्ने र वहुदलीय प्रजातन्त्रलाई संस्थागत गर्ने काम सजिलो थिएन । त्यतिबेला हामीमा कुनै पनि बेला प्रतिक्रान्ति हुन सक्छ, त्यसैले यसलाई रोक्न पार्टीको यौटा हिस्सालाई भूमिगत राख्नु पर्छ भन्ने आग्रह जब्बर थियो । शान्तिपूर्ण बाटोबाट जाँदा इण्डोनेसिया या चिलीमा जस्तै कम्युनिष्ट र समाजवादीहरूमाथि भयङ्कर दमन हुन सक्छ भन्ने त्रास कायम थियो । तर मदन भण्डारीले यस्ता भ्रमलाई समाप्त पारिदिनुभयो ।
मुठ्ठीभर क्रान्तिकारीहरूको बलमा प्रतिक्रान्तिलाई रोक्न सकिन्छ भन्ने भ्रान्तिलाई चिर्दै उहाँले जनतासँग एकाकार भएको र जनतालाई गोलबन्द गर्न सक्ने पार्टीले मात्रै प्रतिक्रान्तिकारी षडयन्त्रलाई विफल पार्न सक्छ, केही शूरबीरहरूको शौर्यबाट यस्तो षडयन्त्र परास्त हुँदैन भन्ने निष्कर्ष निकाल्नुभयो, जुन दूरगामी महत्वको थियो । यसरी मदन भण्डारीले परम्परागत ढाँचाको कम्युनिष्ट पार्टीलाई लोकतान्त्रिक रूपान्तरण गर्ने र एउटा सामन्ती समाजलाई लोकतान्त्रिक समाजमा बदल्ने सङ्क्रमणकालको कुशल नेतृत्व गनुभयोे ।
बहुदलीय व्यवस्थाले ६ बर्ष पनि पूरा गर्न नपाउँदै र शान्तिपूर्ण बाटोबाट सामाजिक परिवर्तनका संभावनाहरू विद्यमान नै भएका बेला माओवादी साथीहरूले हतियार उठाए । जनताको वहुदलीय जनवादका मान्यताहरूको विरोध गर्दै माओवादीहरूले हिंसात्मक बाटोबाट मात्रै राज्यसत्ता प्राप्त गर्न सकिन्छ, कम्युनिष्ट पार्टीको नेतृत्वमा सर्वहारा अधिनायकत्व स्थापित गर्नु पर्छ र यसका लागि सेनासहितको कम्युनिष्ट पार्टी निर्माण गर्नु पर्छ भन्ने गलत धारणाको जगमा हिंसात्मक आन्दोलन सुरु गरे ।
निकै ठूलो क्षतिपछि माओवादीहरू आत्मसमीक्षामा आए र उनीहरूले अगाडि सारेका मान्यताहरू व्यवहारबाटै खण्डित भए । खासमा २०६० सालमा माओवादीले अगाडि सारेकोे ‘एक्काइसौं शताव्दीको जनवाद’ को अवधारणा माओवादीले स्थापना कालमा आफैले उठाएको झण्डाको विसर्जन थियो । जवजको एण्टिथेसिसको रूपमा अगाडि सारिएको ‘प्रचण्डपथ’ आज खुद माओवादीबाटै बेवारिसे भएको छ । जनताको वहुदलीय जनवादको सच्चाइ पुनर्पुष्टि भएको छ । यद्यपि आज पनि माओवादी साथीहरू आन्दोलनका थुप्रै प्रश्नमा दिग्भ्रमित, अन्यौलग्रस्त र डोलायमान छन् ।
उदार प्रजातन्त्रलाई पर्याप्त ठान्ने ‘ प्रजातान्त्रिक’ साथीहरू सामाजिक न्याय सहितको लोकतन्त्रमा आइपुग्नु र संवैधानिक राजतन्त्रलाई झण्डै सिद्धान्त बनाएको पार्टी गणतन्त्रमा सहमत हुनुमा पनि हामीले जनताको वहुदलीय जनवादको प्रभाव देख्न सक्छौं । यसरी हेर्दा मदन भण्डारीको अगुवाइमा प्रतिपादित यो सिद्धान्त कम्युनिष्ट आन्दोलनको मात्र होइन, समग्र राष्ट्रकै एउटा स्वीकार्य सिद्धान्तको रूपमा विकास भएको छ । आज संसारका विभिन्न मुलुकमा शान्तिपूर्ण र लोकतान्त्रिक धारबाट अगाडि बढेका वामपन्थी र कम्युनिष्ट पार्टीहरूले प्राप्त गरेको सफलताले पनि जनताको वहुदलीय जनवादलाई पुष्टि गर्ने काम गरेको छ ।
मदन भण्डारीले कम्युनिष्ट आन्दोलनले विश्वव्यापी रूपमै गंभीर धक्का खाएको बेला नेपालमा यसलाई नयाँ ढङ्गले विकसित गर्नुभयो । उहाँले नेपाली माटोमा माक्र्सवादको सिर्जनात्मक प्रयोग गरेर नेपाली क्रान्तिका मौलिक बाटो र सिद्धान्तको विकास गर्नुभयो । परम्पराको धङ्धङीबाट मुक्त गर्दै क्रान्तिकारी सारतत्व र लोकतान्त्रिक आचरणको कम्युनिष्ट पार्टीको निर्माण र विकास सहज थिएन । तर उहाँले यो काममा अगुवाइ गर्नुभयो ।
पुष्पलालका मान्यतालाई आत्मसात गर्दै परम्परागत रूपमा नदीका दुई किनारा जस्ता बनेका कम्युनिष्ट र काङ्ग्रेसलाई प्रजातन्त्रका निम्ति एउटा मोर्चामा ल्याउनु उहाँको ठूलो सफलता थियो, जसमा विग्रह आउनाले आन्दोलनका उपलव्धिहरू बाह« बर्ष बित्दानबित्दै गुम्ने स्थिति सिर्जना भयो । संविधानका बिषयमा उहाँले अगाडि सारेका आलोचनाका २७ बुँदा कति दूरगामी महत्वका थिए भन्ने कुरा समयक्रमले पुष्टि गरे । प्रगतिशील राष्ट्रवाद सम्बन्धी उहाँका मान्यताहरुको सान्दर्भिकता आज पनि उस्तै छ ।
(ज्ञवाली नेकपा एमालेका उपमहासचिव हुनुहुन्छ)
प्रतिक्रिया