अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

युगपुरुष जन्मेको दिन

युगपुरुष जन्मेको दिन


आज असार १४ गते । नेपाली धर्तीमा एउटा युगपुरुषको जन्म भएको दिन । ती युगपुरुष आज यस धर्तीमा छैनन् तर उनका विचार धर्तीमा झन् झन् तिख्खर हुँदै जाँदैछन् । उनको विचारमा सहमत हुनेहरु बर्षेनी बढ्दै छन् र संगठित पनि हुँदैछन् ।

ती युगपुरुष मदन भण्डारी हुनुहुन्छ । सुदुरपूर्वको ताप्लेजुङमा २००९ साल असार १४ गते जन्मिनुभएका भण्डारी कालान्तरमा नेपाली आकासका एक उज्जवल नक्षत्र सावित हुनुभयो । सानैदेखि अन्याय नसहने बानीका भण्डारीले कालान्तरमा उस्तै अन्यायमा परेका सर्वहारा नेपालीको महान् नेताको रुपमा आफूलाई स्थापित गर्नुभयो ।

मदन भण्डारी जनजनको मनमा गुञ्जिने नाम हो । नेपालमा तितरवितर भएका कम्युनिष्ट पार्टीहरुलाई एकतावद्ध गरेर सरकारको नेतृत्वमा पुर्‍याउने श्रेय मदन भण्डारीलाई नै जान्छ । करिब तीन वर्षको सार्वजनिक जीवनमा राष्ट्रिय र अन्तराष्ट्रिय ख्याती कमाएका भण्डारी ४२ वर्षको उमेरमा एउटा रहस्यमय सवारी दुर्घटनामा सदाका लागि अस्ताउनुभयो ।

हो, २०५० साल जेठ ३ गतेको गोधुली साँझ धेरैका लागि मनमोहक, पे्रमिल र रमाइलो भएर आयो होला तर मदन भण्डारीका लागि त्यो गोधुली काल बनेर आइदियो । पोखराबाट पार्टीको कार्यक्रम सकेर चितवन जाने क्रममा चितवनको दासढुंगा भन्ने ठाउँमा जीप त्रिशुली नदीमा खस्दा मदन भण्डारी आफ्ना सहयोद्धा जीवराज आश्रितसँगै सदाका लागि भौतिक रुपमा बिलाउनुभयो ।

मदन भण्डारीले करिब तीन बर्ष खुला राजनीतिक जीवन बिताउनुभयो । बहुदलीय व्यवस्थापछिको पहिलो आम निर्वाचनमा तत्कालिन प्रधनमन्त्री कृष्णप्रसाद भट्टराईलाई हराएर भण्डारी सांसद हुनुभयो । २०४६ भदौ ९–१४, सिराहामा भएको नेकपा (माले)को महाधिवेशनबाट महासचिव बन्नुभएका भण्डारी ०४७ कात्तिकमा पार्टी प्रवक्ताका रुपमा सार्वजनिक हुनुभयो । ०४८ वैशाखको आम निर्वाचनमा प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई पराजित गरी प्रतिनिधिसभामा निर्वाचित हुनुभयो । त्यसपछि मदनको चर्चा देश विदेशमा चुलिएको हो ।

निरन्तर घण्टौं भाषण गर्न सक्ने,बोलीले नै जनतालाई आकर्षित गर्न सक्ने, राजालाई औंला ठड्याएर लल्कार्न सक्ने नेता हुनुहुन्थ्यो मदन भण्डारी । जसले गर्दा अमेरिकाको न्यूजविक भन्ने पत्रिकाले त्यसबेला एउटा समाचार छापेको थियो । समाचारको शिर्षक थियो ‘कार्लमार्क्स लिभ्स् इन नेपाल’ अर्थात नेपालमा कार्लमार्क्स बस्छन् । कार्लमाक्र्सको मृत्यू भएको शताब्दी बिते पनि मदन भण्डारीलाई देखेर र सुनेर अमेरिका अझै झस्किएको रहेछ भन्ने संकेतको रुपमा समाचारको यो शिर्षकबाट बुझ्न सकिन्छ ।

मदन भण्डारीले बहुदलीय प्रतिस्पर्धाबाट पनि कम्यूनिष्टहरु सत्तामा पुग्न सक्छन् भन्ने अडान र त्यसको व्यवहारिक पुष्टि गर्नुभयो । नेकपा मार्क्सवादीसँग नेकपा मालेको एकता गरेर अध्यक्ष पद मार्क्सवादी समुहका मनमोहन अधिकारीलाई नै जिम्मा लाएका मदन भण्डारीको सोच अनुुरुप नै २०५१ सालमा नेकपा एमाले सबभन्दा ठूलो दल बनेर एकल सरकार सञ्चलन गर्‍यो । भण्डारीले यो दृष्य त देख्न पाउनु भएन तर उहाँको दृढता र सोचले मूर्त रुप पायो ।

मदन भण्डारीको रहष्यमय मृत्यु भएको २९ वर्ष लाग्यो । उहाँ जीवित हुनु भएको भए आज ७२ प्रवेश गर्नुहुन्थ्यो । तर उहाँले अघि सारेका बिचार आज सारा कम्युनिष्टहरुलाई गोलवन्द गर्ने महत्वपूर्ण अस्त्र बनिरहेका छन् । माओवादीले २१ औं शताब्दीको जनवाद भनेपनि त्यो अल्पकालिन विचार हो भन्ने कुरा पुष्टि भइसकेको छ । करिब तीनवर्ष एमालेसँग एकीकरण हुँदा प्रचण्ड लगायत माओवादी नेता कार्यकर्ताले जनताको बहुदलीय जनवादको मौन समर्थन गरेकै हुन् । र, फेरि पनि नेपालका कम्युनिष्टहरुले जननेता मदन भण्डारीले अघि सार्नु भएको र नेकपा एमालेले बोकेको विचार जनताको बहुदलीय जनवादलाई अंगिकार गर्ने दिन धेरै टाढा छैन ।

त्यसैले मदन भण्डारी जस्तो वाककला भएको, देशलाई नयाँ दिशा दिन सक्ने, नेपाली माटो सुहाउँदो सिद्धान्त जनताको बहुदलीय जनवादका प्रणेतालाई युगपुरुष भन्न कुनै कञ्जुस्याँईं गर्नु पर्दैन ।

[email protected]