काठमाडौ -नेकपा एमाले र मदन भण्डारी फाउण्डेसनले आज जननेता मदन भण्डारीको ७१ औं जन्मजयन्ती विविध कार्यक्रम आयोजना गरेर मनाउदैछन् ।
फाउण्डेसनले नेकपा एमालेका अध्यक्ष एवं फाउण्डेसनका संरक्षक केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा दिउसो २ बजे राष्ट्रिय सभागृहमा आयोजना बिचार गोष्ठीको आयोजना गरेको फाउण्डेसनका केन्द्रीय सदस्य घनश्याम कोइरालाले जानकारी दिनुभयो । कोइरालाका अनुसार जनताको बहुदली जनवाद,राष्ट्र निर्माणको आधार भन्ने विषयमा अध्यक्ष ओलीले प्रवचन दिने कार्यक्रम छ ।
यसैगरी आजै मदन भण्डारी राष्ट्रिय पुरस्कार वितरण गर्ने कार्यक्रम पनि रहेको छ । यसवर्षको मदन भण्डारी राष्ट्रिय पुरस्कार सुनसरीका कृष्ण राईलाई प्रदान गरिदैछ । यस्तै मदन भण्डारी रुपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कार प्रेरणा महिला माध्यमिक विद्यालय ललितपुर पुरस्कृत हुदैछ । अध्यक्ष ओलीले यी पुरस्कार राष्ट्रियसभा गृहमा नै वितरण गर्ने कोइरालाले जानकारी दिनुभयो ।
यसैगरी विहान ११ बजे तीनकुनेको रोयल व्यांक्वेटमा मदन भण्डारी,जबज र नयाँ पुस्ता विषयमा अनेरास्ववियुले बिचार गोष्ठीको आयोजना गरेको छ । एमालेका महासचिव शंकर पोखरेलले उक्र कार्यक्रमलाई सम्बोधन गर्दैहुनुहुन्छ । प्रेस चौतारीले हिजो नै जबज र अभिव्यक्ति स्वतन्त्रता भन्ने विषयमा महासचिव पोखरेलसँग अन्तरक्रिया गरेको छ ।
आज फाउण्डेसनका विभिन्न जिल्ला शाखाहरुले रक्तदान,अन्तरक्रिया लगायतका कार्यक्रमहरु आयोजना गरेका छन् ।
२००९ साल असार १४ गते जन्मिएका भण्डारी एमालेको महासचिव हुनुहुन्थ्यो । २०५० सालमा दासढुंगामा जीप दुर्घटना हुँदा उहाँको निधन भएको हो ।





प्रतिक्रिया