भक्तपुर – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि असार १५ को अवसर पार्दै धान रोपाईंमा सहभागी हुुनुभएको छ । एमाले भातृ संगठन अखिल नेपाल किसान महासंघले भक्तपुरको सिरुटारमा आयोजना गरेको रोपाई महोत्सवमा उहाँ सहभागि हुनुभएको हो । उहाँले मेसिनबाट धानसमेत रोप्नुभएको छ ।
पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका एमाले अध्यक्ष ओलीले झण्डै १५ मिनेट मेसिनबाट धान रोप्नुभएको थियो । उहाँसँगै पत्नी राधिका शाक्य र अखिल नेपाल किसान महासंघका अध्यक्ष डा प्रेम दंगालसहितका नेता कार्यकर्ताहरु सहभागी हुनुभएको थियो ।
गाडी चलाएर मेसिनबाट धान रोपेपछि अध्यक्ष ओलीले मुसुक्क हाँस्दै भन्नुभयो, ‘म पनिपुरानो ड्राइभर नै हो नि ।’
रोपाई सुरु गर्नुअघि आयोजित कार्यक्रममा संक्षिप्त संबोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले ६० प्रतिशत जनता कृषिमा निर्भर रहेको अवस्थामा धान आयात गर्नुपर्ने कुरा अत्यन्त दुःखद रहेको बताउनु भयो । ‘६० प्रतिशत जनता कृषिमा निर्भर भए पनि हाम्रो अवस्था भनेको आयातमा भर पर्नुपर्छ । यो अत्यन्त दुःखद स्थिति हो,’ अध्यक्ष ओलीले भन्नुभयो । उहाँले यस्तो स्थिति आउनुको कारण पनि खोल्नुभयो ।
‘यो स्थिति हाम्रा लापर्वाही, असावधान र प्रयाश नगरेको कारण भयो । अव उत्पादन बृद्धिको बाटोबाट, जमिन खेर जान नदिने माध्यमबाट, कृषिको आधुनिकीकरण गर्नै, ब्यवसायीकरण गर्ने बाटोबाट अन्त्य गर्नुपर्छ,’ ओलीले भन्नुभयो । उहाँले सही योजनाका साथ काम गरे धान उत्पादनमा नेपालले फड्को मार्ने बताउनुभयो ।
‘थोरै मेहनत र लापर्वाही सुधार गर्दा पनि धेरै ठूलो मात्रामा बृद्धि पनि गर्न सक्छौं उत्पादनमा । नेपाल कृषि प्रधान देश हो र नेपालको मुख्य खाद्यन्न बाली भनेको धान हो । धानका लागि नेपालको जमिन उत्तम छ । हामीसँग समथल तराई र उर्वर माटो छ, त्यसै गरेर यहाँको हावापानी उत्तम छ धानको लागि,’ ओलीले भन्नुभयो ।
प्रतिक्रिया